उज्यालो नेपाल पार्टीले नै दलित समुदाय बाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउनेछ : किरण बिक

  • कालिका खवर
  • शनिबार, पुस ५, २०८२
  • काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य किरण बिकले आज शनिबार बिहान ११ बजे काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उज्यालो नेपाल पार्टी दलित समुदायलाई भोट बैंकको रूपमा मात्र नहेर्ने स्पष्ट पारेका छन्।

    कार्यक्रममा बोल्दै बिकले देशभर रहेका करिब ६० लाख दलित समुदायलाई माया गर्ने, अवसर दिने र निर्णायक राजनीतिक नेतृत्वमा पुर्‍याउने पार्टी उज्यालो नेपाल पार्टी नै भएको दाबी गरे। उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र उनीहरूको सम्मानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए। उनका अनुसार उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायिक समाजवाद नै दलित समुदायको हक–हित संरक्षण गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र दलित विभेदको अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन हो।

    बिकले उज्यालो नेपाल पार्टीले नेपालमा पहिलो दलित राष्ट्रपति र पहिलो दलित प्रधानमन्त्री दिने ऐतिहासिक लक्ष्य लिएको पनि घोषणा गरे। उनले एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलहरूले दलित समुदायलाई वास्तविक राजनीतिक अवसर नदिई भोटको मात्र दुरुपयोग गरेको आरोप लगाए। सुशासनलाई आधार बनाएर उज्यालो नेपाल पार्टीले निजामती सेवा, प्रहरी, पुरस्कार प्रणाली, अदालत तथा गैरसरकारी संस्थाहरूमा दलितको सहभागिता बढाउने र त्यहाँ हुने विभेदविरुद्ध कडा कारबाही गरिने नीति लिएको उनले बताए। “देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी बन्छ,” भन्दै उनले दलितलाई गरिब बनाएर देश समृद्ध बन्न नसक्ने स्पष्ट पारे।

    आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित मतदाता उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै बिकले दलितको नाममा खोलिएका छुट्टै दलहरूले थ्रेसहोल्ड मतसमेत कटाउन नसक्ने दाबी गरे। छुट्टै दलित पार्टी खोल्नुले दलित आन्दोलनलाई मूलधारबाट बञ्चित गराउने भएकाले त्यसको आवश्यकता नरहेको उनको भनाइ थियो।

    दलित मुक्ति समाजका अन्य समुदायसँग सहकार्य गरेर मात्र सम्भव हुने उल्लेख गर्दै उनले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलिरहेको चिममा भोट हाल्न सम्पूर्ण दलित समुदायलाई आग्रह गरे। नयाँ पार्टी भएकाले उज्यालो नेपाल पार्टीमा आबद्ध हुने दलित समुदायका व्यक्तिहरूले छिटो र व्यापक राजनीतिक अवसर पाउने पनि उनले मिडियाकर्मीहरूसँग बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar