उच्च अदालत बार एसोसिएशन पाटनको उपाध्यक्षमा नारदमुनि सिग्देलको उम्मेदवारी

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । उच्च अदालत बार एसोसिएशन पाटनको आगामी कार्यसमिति निर्वाचनका लागि अधिवक्ता नारदमुनि सिग्देलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। लामो समयदेखि कानुन व्यवसायमा सक्रिय रहँदै आउनुभएका सिग्देलले आफ्नो उम्मेदवारीसँगै व्यवसायिक हक–हितको संरक्षण, संस्थागत सुदृढीकरण र कानुन व्यवसायीबीच सहकार्य तथा एकताको वातावरण निर्माणलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता सिग्देलले आफू सबै कानुन व्यवसायीको साझा उम्मेदवारका रूपमा अघि बढेको बताउनुभयो। उहाँले बारलाई अझ सशक्त, समावेशी र व्यवसायिक संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    सिग्देलले भन्नुभयो, “उच्च अदालत बार एसोसिएशन पाटनलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायिक बनाउन मेरो उम्मेदवारी हो। कानुन व्यवसायीहरूको पेशागत हक–हितको संरक्षण, बारको संस्थागत सुदृढीकरण, आपसी सहकार्य र एकताको वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। नयाँ पुस्ताका अधिवक्तालाई अवसर सिर्जना गर्दै पेशागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने र बारको गरिमा अझ उँचो बनाउने मेरो प्रतिबद्धता छ।”

    उहाँले कानुन व्यवसायीहरूको निरन्तर क्षमता विकास, तालिम तथा व्यावसायिक अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने, युवा अधिवक्तालाई नेतृत्व विकासका अवसर उपलब्ध गराउने तथा बारलाई सबै सदस्यको साझा संस्थाका रूपमा स्थापित गर्न आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

    निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार अध्यक्ष पदमा ३ जना, उपाध्यक्षमा नारदमुनि सिग्देलसहित ४ जना, सचिवमा ३ जना, कोषाध्यक्षमा ३ जना, सह–सचिवमा ३ जना तथा सदस्य पदका लागि विभिन्न कानुन व्यवसायीहरूले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै चुनावी गतिविधि पनि तीव्र बनेको छ।

    निर्वाचन समितिका अनुसार उच्च अदालत बार एसोसिएशन पाटनको नयाँ नेतृत्व चयनका लागि तोकिएको मितिमा मतदान हुनेछ। निर्वाचित नयाँ कार्यसमितिले आगामी कार्यकालमा कानुन व्यवसायीहरूको पेशागत हितको संरक्षण, बारको संस्थागत विकास तथा न्यायिक क्षेत्रको सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar