टुर्गान अध्यक्षमा उत्तमप्रसाद देवकोटाको उम्मेदवारी, गाइडको हकहित र संस्थागत सुधार मुख्य एजेन्डा

  • कालिका खवर
  • शनिबार, असार २७, २०८३
  • काठमाडौं । नेपालका पर्यटक गाइडहरूको छाता संस्था टुरिष्ट गाइड एशोसियशन नेपाल (टुर्गान)को अध्यक्ष पदका लागि उत्तमप्रसाद देवकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ। टुर्गानको आज असार २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ३३औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।

    ‘पर्यटनका लागि गाइड, गाइडका लागि प्रतिबद्ध नेतृत्व’ भन्ने मूल नारासहित देवकोटाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गाइडहरूको पेशागत सम्मान, सुरक्षा, क्षमता विकास तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले टुर्गानलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ।
    पर्यटन, शिक्षा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका देवकोटा हाल त्रिभुवन विश्वविद्यालयमा पिएचडी शोधार्थी हुनुहुन्छ। उहाँ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ), नेपाल हस्तकला महासंघका पूर्व महानिर्देशक तथा क्यानभास कलेजका पूर्व क्याम्पस प्रमुखसमेत रहनुभएको छ।

    देवकोटाले आफ्नो चुनावी घोषणापत्रमार्फत टुर्गानको तीनवर्षे रणनीतिक योजना निर्माण, गाइडहरूको अनिवार्य बीमा तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, महिला गाइडहरूको क्षमता विकास र सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, अनुभव र योग्यताका आधारमा गाइडहरूको वर्गीकरण तथा पारिश्रमिक वृद्धि गर्ने, अनधिकृत गाइड नियन्त्रण गर्ने, संस्थाको सचिवालय र डाटाबेसलाई डिजिटल प्रविधिमैत्री बनाउने तथा ‘टुर्गान रिसोर्स सेन्टर’ स्थापना गर्ने योजना अघि सार्नुभएको छ।

    त्यसैगरी, गाइडहरूको आर्थिक सशक्तीकरणका लागि सहकारी (को–अपरेटिभ) मोडेलमा कार्यक्रम सञ्चालन गर्ने तथा कार्यक्षेत्रमा दुर्घटनामा परी ज्यान गुमाउने गाइडका सन्तानलाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

    “गाइडको सम्मान, संघको पहिचान, पर्यटनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने संकल्पका साथ चुनावी मैदानमा उत्रिनुभएका देवकोटाले सम्पूर्ण टुर्गान सदस्य तथा पर्यटनकर्मीहरूलाई आफ्नो पक्षमा मतदान गरी संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अवसर दिन आग्रह गर्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar