त्यसैले मेरा लागि ठाउँ रहेन कांग्रेसमा : अबुल हुसेन अन्सारी

  • कालिका खवर
  • बिहिबार, माघ २२, २०८२
  • काठमाडौं । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता अबुल हुसेन अन्सारीले कांग्रेस परित्यागको कारण सार्वजनिक गर्दै पार्टीभित्र आफ्ना लागि कुनै ठाउँ नरहेको बताएका छन्। विद्यार्थी राजनीतिदेखि लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेसको झण्डा बोकेर संघर्ष गरेको स्मरण गर्दै अन्सारीले आत्मसम्मान, सिद्धान्त र जनताप्रतिको जिम्मेवारीका कारण कांग्रेस छाड्न बाध्य भएको बताएका हुन्।

    अन्सारीका अनुसार उनले कहिल्यै पद, प्रतिष्ठा वा लाभको राजनीति नगरेर कांग्रेसलाई आफ्नै घरझैँ मानेर काम गरे। नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा संगठन विस्तार, जनसम्पर्क र आन्दोलनमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको उनको दाबी छ। २०४८ सालदेखि २०६२/६३ को जनआन्दोलन तथा मधेश आन्दोलनसम्म आफू निरन्तर कांग्रेसको अग्रमोर्चामा सक्रिय रहेको उनले बताए।

    तर, कांग्रेसभित्र अल्पसंख्यक, पिछडिएका र आवाजविहीन समुदायका मुद्दा बेवास्ता हुँदै गएको, योगदानको कदर नहुने र टिकट वितरणमा निरन्तर पूर्वाग्रह देखिएको उनको आरोप छ। “कांग्रेसले सधैँ मलाई राजनीतिको किनारामा राख्यो,” अन्सारीले भने, “मेरो समुदाय र जन्मथलोमाथि केही नेताले वर्षौं राज गर्दै दमन गरे, अब त्यो सह्य छैन।”

    उनले कांग्रेसभित्र विपी कोइरालाको विचार, मूल्य र इतिहास कमजोर हुँदै गएको पनि आरोप लगाए। पैसामा टिकटको मोलमोलाइ हुने, एउटै व्यक्ति पटक–पटक उम्मेदवार बन्ने र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको कारण कांग्रेसप्रति जनविश्वास घटेको उनको भनाइ छ।

    यही वैचारिक विचलन र पीडाका कारण आफू नेकपा एमालेमा प्रवेश गरेको अन्सारीले स्पष्ट पारे। एमाले प्रवेश कुनै अवसरका लागि नभई आत्मसम्मानका लागि भएको उनको दाबी छ। सुनसरी–४ बाट एमालेले दिएको टिकटलाई सम्मानका रूपमा लिएको भए पनि पार्टीभित्रका पुराना कार्यकर्ताको योगदानलाई ध्यानमा राख्दै आफूले टिकट त्यागेको उनले बताए। “यसले म अवसरवादी होइन भन्ने प्रमाणित गर्छ,” उनले भने।

    अन्सारीले सुनसरी–४ मा कांग्रेसले पटक–पटक ‘टुरिस्ट उम्मेदवार’ थोपरेको आरोप लगाउँदै स्थानीय भूमिपुत्र नेतृत्वलाई निरन्तर बेवास्ता गरिएको बताए। ज्ञानेन्द्र कार्कीलाई चार पटकसम्म टिकट दिइनु समुदायको भावना विपरीत भएको उनको भनाइ छ। कांग्रेसको टिकट वितरण प्रक्रियाले स्थानीय नेतृत्व, विशेषतः मुस्लिम समुदायका नेता–कार्यकर्तालाई निरुत्साहित गरेको उनले बताए।
    अन्त्यमा, अन्सारीले कांग्रेससँग जोडिएका संघर्ष, स्मृति र योगदान सधैँ सम्मानयोग्य रहने बताए। बाटो फरक भए पनि गन्तव्य लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमान नै रहेको उल्लेख गर्दै उनले विपीको विचार आफ्नो राजनीतिक यात्राको दीपस्तम्भ रहने स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar