सुशासन, मानव विकास र पर्यटनसहित दिगो पूर्वाधार निर्माणमा जोड

  • कालिका खवर
  • आइतवार, जेष्ठ २४, २०८३
  • नागर्जुन नगरपालिकाद्वारा सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न

    काठमाडौं । “समृद्ध नागर्जुनको आधार : सुशासन, मानव विकास र पर्यटनसहितको दिगो पूर्वाधार” भन्ने मूल नाराका साथ नागर्जुन नगरपालिकाले सेवा प्रवाह तथा विकास निर्माणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

    नागर्जुन नगरपालिका–७ स्थित ऐतिहासिक इचङ्गुनारायण मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा कामु नगर प्रमुख सुशिला अधिकारी ले नगरपालिकाले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रवाह तथा विकास निर्माणका कामलाई अघि बढाएको बताइन्। उनले नगरवासीका सुझाव र गुनासालाई सम्बोधन गर्दै विकासका योजनाहरूलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरिन्।

    प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल ले नगरपालिकाबाट प्रवाह हुने सेवा, चालु विकास आयोजना, बजेट कार्यान्वयन तथा आगामी योजनाबारे जानकारी गराएका थिए। उनले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

    कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य केशव पौडेल ले सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउन सके मात्र नागर्जुन नगरपालिकाले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए। उनले स्थानीय सरकारलाई जनअपेक्षा अनुसार परिणाममुखी काम गर्न आग्रह गरे।

    त्यसैगरी विशेष अतिथि तथा बागमती प्रदेशका पूर्वमन्त्री प्रकाश श्रेष्ठ ले नागर्जुन क्षेत्र धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न भएकाले पर्यटन विकासमार्फत स्थानीय आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिए। उनले दिगो पूर्वाधार निर्माणसँगै मानव विकासका सूचक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए।

    सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा अन्य सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, सुझाव र गुनासा प्रस्तुत गरेका थिए। नगरपालिकाका पदाधिकारी तथा सम्बन्धित शाखा प्रमुखहरूले उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए।

    नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहिताको प्रभावकारी माध्यमका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar