‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ सम्पन्न

  • कालिका खवर
  • बुधबार, असार २४, २०८३
  • निराज रानाभाट, धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा ‘ छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८३ तथा छात्रवृत्ति वितरण कार्यक्रम ’ भव्य रूपमा सम्पन्न भएको छ । हस्तलेखन प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउँपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेत्रावती डबजोङ्ग गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए, भने नेत्रावती डबजोङ्ग गाउँपालिका प्रवक्ता तथा वडा नं.-१ का वडा अध्यक्ष ठाकुर गुरुङ, श्री निरञ्जना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक केशरी पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकशिक्षिकाहरु, निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष – २०५६ का पदाधिकारीहरु, सिसिएमका आजीवन संरक्षक उत्तम अधिकारी, चन्द्रबहादुर – बुनादेवी अक्षयकोषका अध्यक्ष लक्ष्मी अधिकारी, कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरु, अभिभावकहरु तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    कार्यक्रम मुख्य व्यवस्थापक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा शुद्ध लेखन संस्कृतिको विकास, भाषाप्रतिको रुचि अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । उक्त प्रतियोगितामा अनुस्मा तामाङ (निरञ्जना मा.वि., कक्षा ७) प्रथम, सुमिना तामाङ (कुण्डलादेवी मा.वि., कक्षा ५) द्वितीय तथा निमस्का तामाङ (निरञ्जना मा.वि., कक्षा ८) तृतीय भएका छन् । यस्तै, पवित्रा वि.क (मंगलादेवी मा.वि., कक्षा ७) चौथो स्थान हासिल गरिन्, भने दीपशिखा थापा (निरञ्जना मा.वि., कक्षा ७), रिमा विश्वकर्मा (कुण्डलादेवी मा.वि., कक्षा ८) र गरिमा पौडेल (निमार्चोक मा.वि., कक्षा ६) संयुक्त रूपमा पाँचौं स्थान प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी, दीपा तामाङ (कुण्डलादेवी मा.वि., कक्षा ६), जसुधा रिजाल (निरञ्जना मा.वि., कक्षा ५), विकाश तामाङ (मार्पाक पोखरा, कक्षा ५) तथा अंकित सोनार (निमार्चोक मा.वि., कक्षा ५) छैटौं हासिल गरेका छन् । उक्त हस्तलेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण-पत्र प्राप्त गरेका थिए, भने बाँकी सबै सहभागी विद्यार्थीहरुलाई पनि नगद, आकर्षक उपहार र प्रमाण-पत्र प्रदान गरिएको गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, अनुशासन, शुद्ध लेखन तथा सिर्जनशीलताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा पनि प्रतियोगितालाई अझ प्रभावकारी र व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    त्यस्तै, छात्रवृत्ति वितरण कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको छ । उत्कृष्ट विपन्न छात्रतर्फ शिव अधिकारी (कक्षा ६), उत्कृष्ट विपन्न छात्रातर्फ कृष्मा खनाल (कक्षा ६), उत्कृष्ट दलित छात्रातर्फ आशिका वि.क (कक्षा ८), उत्कृष्ट जनजाति छात्रातर्फ सिमा मगर (कक्षा ८), उत्कृष्ट खेलाडी छात्रातर्फ निशान वि.क (कक्षा ८) तथा उत्कृष्ट अनुशासित छात्रातर्फ ईशा तामाङ (कक्षा ७) लाई छात्रवृत्ति प्रदान गरिएको छ । उक्त ‘ छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रम ’ मा निरञ्जना भूतपूर्व शिक्षक तथा विद्यार्थी छात्रवृत्ति कोष २०५६ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजकमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना एसइई ब्याच २०५६ को सह – आयोजनामा सम्पन्न भएको छ, भने मुख्य प्रायोजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकोष समिति तथा प्रायोजकमा निको डेन्टल केयर प्रा.लि. र सफल कोरियन भाषा प्रशिक्षण केन्द्र रहेका थिए । यस्तै, हस्तलेखन प्रतियोगिता तथा छात्रवृत्ति वितरण कार्यक्रमको अनलाइन मिडिया पार्टनरमा जनअपडेट डटकम, ईभा मिडिया डटकम, धादिङ सञ्चार डटकम र क्लिक बुलेटिन डटकम रहेका थिए, भने टिभी पार्टनरमा दिव्य दर्शन टेलिभिजन र रेडियो पार्टनरमा निलकन्ठ एफएम रहेको थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar