सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरसिय सडक आयोजना प्रभावित

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल–गोरसिया सडक आयोजना सरकारी समन्वय अभाव र महँगीका कारण प्रभावित बनेको छ। विश्व बैंकको सहयोगमा नेपाल सरकारले एसियन हाइवे मापदण्डअनुसार अगाडि बढाएको उक्त आयोजना हाल सुस्त गतिमा अघि बढिरहेको छ।

    गत वर्ष कार्तिक महिनामा निर्माण सम्झौता गरेको SCEGC–ANS JV ले प्रारम्भिक चरणमा राम्रो प्रगति गरे पनि पछिल्लो समय निर्माण कार्य ढिलो भएको पाइएको छ। निर्माण कम्पनीका प्रतिनिधिहरूले सरकारी निकायबीच समन्वयको अभाव र बढ्दो महँगीका कारण काम प्रभावित भएको बताएका छन्।

    आयोजनाका अनुसार नेपाल विद्युत प्राधिकरणले गत वर्षमै सारिसक्नुपर्ने विद्युतका पोलहरू अझै नहटाउँदा निर्माण कार्यमा अवरोध सिर्जना भएको छ। पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले आवश्यक सहजीकरण नगरेको गुनासो निर्माण पक्षको छ।

    त्यस्तै, निर्माणमा आवश्यक माटो, ढुंगा, गिट्टीजस्ता सामग्री व्यवस्थापनका लागि स्थानीय तथा जिल्ला स्तरका निर्णय प्रक्रिया जटिल र ढिलासुस्तीपूर्ण भएको बताइएको छ। वन, नदी तथा चुरे क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी निकायबाट हुने प्रक्रियागत ढिलाइले आयोजनालाई थप प्रभावित बनाएको छ।

    निर्माण व्यवसायीका अनुसार चालु आर्थिक वर्षभित्र करिब १६ किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर बिटुमिन (कालोपत्रे सामग्री) अभाव र मूल्यवृद्धिका कारण सो लक्ष्य पूरा गर्न कठिन भएको छ।

    निर्माण पक्षले आफूहरू काम गर्न तयार रहेको बताउँदै सरकारसँग आवश्यक सहजीकरण, समन्वय र मूल्यवृद्धिको क्षतिपूर्ति दिन आग्रह गरेको छ। यति ठूलो राष्ट्रिय महत्वको आयोजना सरकारी समन्वय अभावकै कारण ढिलाइ हुनु दुःखद भएको भन्दै सरोकारवालाहरूले तत्काल समस्या समाधान गरी कामलाई गति दिन राज्यको ध्यानाकर्षण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar