संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिले संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : बर्तौला

  • कालिका खवर
  • शनिबार, पुस ५, २०८२
  • काठमाडौँ । बिघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले संविधानको परिपालक र संरक्षकको भूमिकामा रहेका सम्माननीय राष्ट्रपतिबाट भएको संवैधानिक कमजोरी सच्याउँदै संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्ने माग गरेका छन्।

    उनले जारी गरेको धारणा अनुसार सार्वभौम नेपाली जनताको विवेकपूर्ण मतबाट निर्वाचित प्रतिनिधिसभा षड्यन्त्रमूलक र असंवैधानिक ढङ्गबाट विघटन गरिएको उल्लेख गर्दै यो कदम संसद मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्तामाथिको आघात भएको बताएका छन्।
    महेश बर्तौलाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक परीक्षण र उपचारका लागि दर्जनौँ रिट निवेदन सम्मानित अदालतमा दर्ता भई विचाराधीन अवस्थामा छन्। तर, संवैधानिक कमजोरी स्वयं राष्ट्रपतिको निर्णयबाट उत्पन्न भएकाले त्यसलाई सच्याउन अदालतको आदेश कुर्न आवश्यक नरहेको उनको भनाइ छ।
    उनले वर्तमान संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्यका लागि राष्ट्रपतिले विगतका नजिरसमेतलाई आधार मानी लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहिता बहन गर्दै अविलम्ब संसद पुनर्स्थापनाको घोषणा गरी संसद बैठक आह्वान गर्नुपर्ने स्पष्ट पारेका छन्।

    बर्तौलाले यस्तो कदम नै मुलुकले सामना गरिरहेको जटिल परिस्थितिबाट निकास दिने अनिवार्य संवैधानिक कर्तव्य र जिम्मेवारी भएको उल्लेख गर्दै यसबाट विद्यमान राजनीतिक प्रश्न, गुनासा र मुद्दाहरूको संवैधानिक तथा लोकतान्त्रिक समाधान सम्भव हुने र देशको दीर्घकालीन हित प्रवर्द्धन हुने दाबी गरेका छन्।
    उनले उदाहरण दिँदै तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा अदालतको आदेशबिनै २०६३ साल वैशाख ११ गते घोषणा मार्फत पुनर्स्थापना गरेको स्मरण गराएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar