सम्झौता टुङ्गोमा पुग्नै लाग्दा अमेरिकाले एकाएक आफ्ना मागहरू परिवर्तन गर्‍यो : इरानी विदेशमन्त्री

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • इस्लामावाद । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको इस्लामावादमा भएको उच्चस्तरीय वार्ता बिना निष्कर्ष टुङ्गिएपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले आफूहरू ऐतिहासिक सम्झौताको निकै नजिक पुगेको भए पनि अन्तिम समयमा अमेरिकाले थप सर्त र प्रतिबन्धहरू तेर्स्याउँदा वार्ता भाँडिएको बताएका छन्। ४७ वर्षयताकै सबैभन्दा उच्च तहमा भएको भनिएको यो वार्ता असफल भएपछि पश्चिम एसियामा तनाव थप बढ्ने निश्चित देखिएको छ।

    विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकामाथि तिखो प्रहार गर्दै इरानले असल नियतका साथ युद्ध रोक्न संवाद अघि बढाएको दाबी गरेका छन्। उनले इस्लामावाद सम्झौता टुङ्गोमा पुग्नै लाग्दा अमेरिकाले एकाएक आफ्ना मागहरू परिवर्तन गरेको र नयाँ सर्तहरू थपेर इरानलाई दबाबमा पार्न खोजेको आरोप लगाएका छन्। अमेरिकाले विगतका गल्तीबाट कुनै पाठ नसिक्दा शान्ति स्थापना गर्ने यो सुनौलो अवसर गुमेको उनको तर्क छ।

    अराघचीले अमेरिकालाई चेतावनी दिँदै ‘असल नियतको बदला असल नियत र शत्रुताको बदला शत्रुता नै मिल्ने’ स्पष्ट पारेका छन्। वार्ता असफल भए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रामक कदम चाल्ने धम्की दिइसकेका छन्। ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने हरेक जहाजमाथि कडा नाकाबन्दी गर्ने घोषणा गरेका छन्। यो घोषणाले विश्वभरको तेल आपूर्तिमा गम्भीर असर पर्ने र इन्धनको मूल्य अझै बढ्ने त्रास बढाएको छ।

    दुई देशबिचको यो म्याराथन वार्ता असफल हुनुलाई विश्वभरका कूटनीतिज्ञहरूले निकै चासोका साथ हेरेका छन्। यसअघि कायम रहेको दुई साताको अस्थायी युद्धविराम समेत धरापमा परेको छ। इरानको तर्फबाट लचिलो बन्दाबन्दै पनि अमेरिकी पक्षबाट आएका नयाँ सर्तहरूले गर्दा वार्ताको मेचबाट दुवै पक्ष उठ्नुपर्ने स्थिति आएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar