सीमावर्ती भारतीय बजारबाट अवैध हतियारसहित एक पक्राउ

  • कालिका खवर
  • शुक्रबार, माघ २३, २०८२
  • रौतहट । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया छेउ गुवावारी घाट बाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा लिइएको हो।

    नियमित जाँच तथा गोप्य सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा पल्सर मोटरसाइकलमा सवार एक सन्दिग्ध युवकलाई रोकी जाँच गर्दा दुई थान घरेलु पेस्तोल र सोमा प्रयोग हुने चार थान जिउँदो गोली बरामद भएको एसएसबीले जनाएको छ।

    पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्ला कुन्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज रहेको जनाइएको छ। उनी लामो समयदेखि सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेको आशंका गरिएको सुरक्षा स्रोतले बताएको छ।

    बैरगनिया बजार नजिकैको फुलवरिया घाट हुँदै हतियार ओसारपसार भइरहेको विशेष सूचनापछि एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुआबारी अफिस घाट आसपासको क्षेत्रमा कारबाही गर्दै उनलाई पक्राउ गरेको हो।

    घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। चुनावको समय नजिकिँदै जाँदा भारतबाट आवत जावत गर्ने नागरिक माथि नेपाली सुरक्षाकर्मीले कडा निगरानी सुरु गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar