सीके राउतद्वारा ‘जेनजी जनमत संघ’ का युवालाई प्रशिक्षण

  • कालिका खवर
  • मङ्लबार, अशोज २१, २०८२
  • सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सप्तरीको बरमझियामा ‘जेनजी जनमत संघ’ का युवाहरूलाई प्रशिक्षण तथा निर्देशन दिएका छन्। उनले प्रत्येक टोलमा जेनजी मतदाता दर्ता अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्। डा. राउतले जेनजीलाई अरू कसैले नचिन्दा वा बेवास्ता गर्दा पनि आफू नै यस समूहको ‘लिडर’ रहेको बताए। जनमत पार्टीलाई ‘जेनजीको पार्टी’ को रूपमा प्रस्तुत गर्दै उनले ‘नौलो गणतन्त्रको विकास’ र ‘समस्याको निकास’ आफ्नो लक्ष्य भएको बताए।

    जेनजी जनमत संघले अब ‘जे गर्छ, जेनजीले गर्छ’ भन्ने नारा अघि सारेको छ। पार्टीका मुख्य एजेन्डाहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री, निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था, विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार सुनिश्चित गर्नु रहेको छ।

    साथै, पार्टीले ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, डिजिटल नेपाल र रोजगारीको व्यवस्था गर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकार सम्पन्न बनाउने घोषणा गरेको छ। विज्ञहरूलाई मन्त्रालयमा राख्ने, सांसदलाई मन्त्री नबनाउने, न्यायाधीशको नियुक्ति सरकारले नभई निर्वाचनमार्फत हुने, तथा भ्रष्टाचार नियन्त्रण गर्न ‘हायर एन्ड फायर’ नीति लागू गर्ने जस्ता महत्त्वाकाङ्क्षी योजनाहरू पनि जनमत पार्टीले अघि सारेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar