सिद्धार्थ माविमा शुल्क विवाद : वडाध्यक्ष र प्रधानाध्यापकबीच आरोप–प्रत्यारोप

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • वीरगञ्ज। वीरगञ्ज महानगरपालिका–१४ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा शुल्क उठाएको विषयलाई लिएर वडाध्यक्ष महबुब एलाही अन्सारी र प्रधानाध्यापक विनोद मेहता आमनेसामने आएका छन्। एक अर्कामाथि गम्भीर आरोप लगाउँदै दुवै पक्षले सार्वजनिक रूपमा विवादलाई चर्काएका छन्।

    बिहीबार वडाध्यक्ष अन्सारीले पत्रकार सम्मेलन गर्दै प्रधानाध्यापक मेहतामाथि विद्यार्थीहरूसँग गैरकानुनी रूपमा सहयोग शुल्क उठाउने काम गरेको आरोप लगाए। उनले मेहताले विद्यालयमा आएदेखि नै विद्यार्थीहरूमाथि आर्थिक शोषण गर्दै वार्षिक हजारौँ रुपैयाँ असुल गरेको दाबी गरे।

    “नेपाल सरकारले सामुदायिक विद्यालयमा शुल्क नउठाउन स्पष्ट निर्देशन दिएको छ। तर मेहताले नियमविपरीत मासिक र वार्षिक रकम असुलिरहेका छन्,” अन्सारीले भने।

    उनका अनुसार वीरगञ्ज महानगरपालिकाले विद्यालयलाई अङ्ग्रेजी माध्यम घोषणा गर्दै शुल्क नलिने निर्णय गरिसकेको थियो। तर मेहताले निर्णयलाई बेवास्ता गर्दै निरन्तर शुल्क असुल्न थालेपछि आफूले सार्वजनिक रूपमा प्रश्न उठाउन बाध्य भएको उनले बताए।

    वडाध्यक्ष अन्सारीले यो विषय महानगरपालिकाका मेयर राजेशमान सिंह र शैक्षिक प्रशासन महाशाखालाई जानकारी गराएको तर अहिलेसम्म कुनै कारबाही नभएको आरोप समेत लगाए। “यस्तो अवस्थामा महानगरपालिकाको मौनता मेहतासँगको मिलेमतोको संकेत हो,” उनले टिप्पणी गरे।

    प्रधानाध्यापक मेहताले भने सबै आरोपलाई निराधार र कपोलकल्पित भन्दै खण्डन गरेका छन्। उनले आफूले गैरकानुनी शुल्क उठाएको नभई विद्यालयको आवश्यकता अनुसार अभिभावक भेलाबाट सहमति लिएर सहयोग रकम संकलन गरिएको दाबी गरे।

    “यदि मैले गैरकानुनी रूपमा पैसा उठाएको प्रमाणित भयो भने म तत्क्षण पद त्याग्न तयार छु,” मेहताले प्रतिक्रिया दिए।

    उनका अनुसार विद्यालयमा डेस्क–बेन्च, शौचालय र अन्य भौतिक संरचना अत्यन्तै कमजोर अवस्थामा थिए। ती सुधारका लागि विद्यालय व्यवस्थापन समितिको बैठक र अभिभावक भेलाबाटै सहयोग रकम उठाउने निर्णय भएको उनले स्पष्ट पारे। “रकम उठाउने निर्णयमा वडाध्यक्ष स्वयं पनि उपस्थित थिए,” उनले दाबी गरे।

    तर विद्यार्थीहरूले भने विद्यालयले शुल्क उठाएको प्रमाण दिन तयार रहेको बताएका छन्। कक्षा १० का विद्यार्थी सुमित कुशवाहाले भने, “हामीबाट पैसा लिएको छ। हामी गवाही दिन सक्छौं। त्यो दिन मुश्किलले १०–२० जना मात्र अभिभावक आएका थिए। सबैको निर्णयमा सहमति न गराई शुल्क लिन मिल्दैन।”

    विद्यार्थीहरूले विद्यालयले नयाँ शिक्षक नल्याएको, सरकारकै तलब खाने शिक्षकलाई पढाउन लगाइएको र सोही अवस्थामा समेत शुल्क असुलिएको भन्दै असन्तुष्टि जनाएका छन्।

    प्रधानाध्यापक मेहताले उल्टै वडाध्यक्ष अन्सारीमाथि अनुचित रकम मागेको र धम्की दिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले अन्सारीले विद्यालयमा गुन्डा पठाएर उद्दण्डता मच्चाउने र शैक्षिक वातावरण बिगार्ने गरेको दाबीसमेत गरेका छन्।

    “वडाध्यक्षले मसँग अनुचित रकम माग्दै विभिन्न किसिमले मानसिक यातना दिइरहेका छन्। कहिले शिक्षकलाई अपमानित गर्ने, कहिले मलाई धम्की दिने काम भइरहेको छ,” मेहताले आरोप लगाए।

    वडाध्यक्ष अन्सारीले भने आफूले धम्की दिएको वा गुन्डा पठाएको भन्ने आरोपलाई अस्वीकार गरेका छन्। तर उनले सामाजिक सञ्जालमा आक्रोशमा आएर मेहतालाई “वीरगञ्जकै सबैभन्दा भ्रष्ट प्रधानाध्यापक” भनेको स्वीकार गरेका छन्।

    प्रधानाध्यापकले आफ्नो सुरक्षाको माग गर्दै स्थानीय प्रशासन, महानगरपालिका, शिक्षक महासंघ र प्रधानाध्यापक संघको ध्यानाकर्षण गराएका छन्।

    यस घटनाले विद्यालयमा पठन–पाठन प्रभावित भएको अभिभावकहरूले बताएका छन्। उनीहरूका अनुसार लामो समयदेखि चलिरहेको विवादका कारण विद्यार्थीहरूको मनोबल कमजोर भएको छ।

    नेपालको संविधानको धारा ३१ र २०७५ सालको निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग कुनै शुल्क लिन नपाउने व्यवस्था गरेको छ।

    तर सिद्धार्थ माविमा शुल्क उठाइएको स्वीकारोक्ति र विद्यार्थीहरूको गवाहीसँगै विवाद कानुनी बहसमा तानिएको छ।

    शुल्क विवादका कारण विद्यालयको शैक्षिक वातावरण कमजोर बन्दै गएको र यसले विद्यार्थीहरूको अध्ययनमा प्रत्यक्ष असर परेको अभिभावकहरूको गुनासो छ।

    स्थानीयवासीले दुवै पक्षबीचको आरोप–प्रत्यारोप तत्काल अन्त्य गरी विद्यालयलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar