शिवप्रसाद घिमिरेद्वारा ‘वस्तुगत’ प्यानल घोषणा, अञ्जन श्रेष्ठको पूर्ण समर्थन

  • कालिका खवर
  • सोमवार, चैत्र ९, २०८२
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनलाई लक्षित गर्दै वस्तुगत तर्फको उपाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गर्नुभएको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा घिमिरेले १६ सदस्यीय उम्मेदवारसहितको आफ्नो टिम सार्वजनिक गर्नुभएको हो।

    घिमिरेको उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न अग्रसर अञ्जन श्रेष्ठले आधिकारिक रूपमा समर्थन गर्नुभएको छ। ऊर्जा तथा एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले उद्योग र व्यापारका विविध क्षेत्र समेटेर समावेशी र सशक्त टिम निर्माण गरेको दाबी गर्नुभएको छ।

    घिमिरे समूहका सदस्य उम्मेदवारहरू:
    अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुबबहादुर गौतम रहेका छन्।

    नेतृत्व र अनुभवको दाबी
    शिवप्रसाद घिमिरे नेपाली निजी क्षेत्रमा ‘एक्सन ओरिएन्टेड’ र तार्किक नेतृत्वका रूपमा चिनिनुहुन्छ। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्षसमेत रहनुभएका उहाँले ऊर्जा तथा पेट्रोलियम क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। साना तथा मझौला उद्योगीका मुद्दा नीतिगत तहसम्म पुर्‍याउन उहाँले लामो समयदेखि वकालत गर्दै आउनुभएको छ।

    सरकार र निजी क्षेत्रबीच समन्वयकारी भूमिका खेल्न सक्ने स्पष्ट र निडर प्रस्तुति उहाँको विशेषता रहेको समर्थकहरूको भनाइ छ।

    “भाषण होइन, परिणामका लागि उम्मेदवारी”
    उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले वस्तुगत संघहरूको भूमिका अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “वस्तुगत संघहरू महासंघका मेरुदण्ड हुन्, तर उनीहरूले पाउनुपर्ने अधिकार र प्राथमिकता पाउन सकेका छैनन्। हाम्रो टिमले ती संघहरूको आवाजलाई मूलधारमा स्थापित गर्नेछ।”
    उहाँले वर्तमान आर्थिक परिस्थितिमा व्यवसायीहरूको मनोबल खस्किएको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माणमा ठोस पहल गर्ने बताउनुभयो। “हामी भाषणमा होइन, काममा विश्वास गर्छौं। अञ्जन श्रेष्ठको गतिशील नेतृत्व र हाम्रो अनुभवले महासंघलाई नयाँ उचाइमा पुर्‍याउनेछ,” उहाँले भन्नुभयो।

    प्यानल घोषणासँगै महासंघको चुनावी माहोल थप तातिएको छ। घिमिरे समूहले देशभरका वस्तुगत संघहरूसँग अन्तर्क्रिया तथा प्रचार अभियान तीव्र बनाउने तयारी गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar