शहिद दिवसमा रास्वपाका उम्मेदवार सुशील कानुद्वारा मधेस आन्दोलनका शहिदहरूलाई श्रद्धाञ्जली

  • कालिका खवर
  • शुक्रबार, माघ १६, २०८२
  • वीरगंज – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले शहिद दिवसको अवसरमा मधेस आन्दोलनका शहिदहरूको सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

    शुक्रबार शहिद दिवसको अवसरमा वीरगन्जस्थित घण्टाघर नजिकको मधेसी शहिद स्मारक पार्क पुगेर उम्मेदवार कानुले मधेस आन्दोलनका शहिद धर्मराज सिंह, दिलिप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दिनानाथ साह गोढ, शत्रुधन पटेल र आशीष रामको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

    श्रद्धाञ्जली कार्यक्रममा बोल्दै कानुले शहिद दिवसका दिनसमेत मधेस आन्दोलनका शहिदहरू मधेस केन्द्रित दलहरूको प्राथमिकतामा नपरेकोप्रति दुःख व्यक्त गरे। मधेसी समुदायको अधिकार, पहिचान र सम्मानका लागि जीवन बलिदान दिने शहिदहरूको योगदान आफ्नो दिल र दिमागमा सधैं ताजा रहने भएकाले स्मारकमा आएर श्रद्धाञ्जली अर्पण गरेको उनले बताए।

    विगतमा भएका सबै मधेस आन्दोलनमा आफू सक्रिय रूपमा सहभागी भएको स्मरण गर्दै कानुले भने, “मधेस आन्दोलनका यी शहिदहरूको बलिदानीकै कारण आज मधेस र मधेसीले अपमान र विभेदको सट्टा पहिचान र सम्मान पाएका छन्। यी शहिदहरूलाई म कहिल्यै बिर्सन सक्दिनँ र उहाँहरूले देखाएको बाटोमा सधैं हिँड्ने प्रयास गर्नेछु।”

    कानुले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनका आन्दोलन तथा विद्रोहमा ज्यानको आहुति दिने सम्पूर्ण शहिदहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar