सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकारमा, हिल्दुम जलविद्युत् मर्मतका कारण विद्युत् आपूर्ति बन्द

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • अदानचुली । हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि निरन्तर अन्धकारमा डुबेको छ । सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम जलविद्युत् वितरण केन्द्रमा प्रवाह अवरुद्ध भएपछि सम्पूर्ण क्षेत्र अन्धकारमा परेको हो ।

    वितरण केन्द्रमा खराबी आए पनि मर्मत कार्य सम्पन्न हुन नसक्दा विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले जानकारी दिए । उनका अनुसार विद्युत् गृहलगायतका संरचनामा आवश्यक मर्मत कार्य चलिरहेको छ र शनिबारसम्म मर्मत पूरा गरी विद्युत् आपूर्ति पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

    विद्युत् बन्द भएपछि सरकारी तथा निजी कार्यालयका दैनिक कार्यहरू ठप्प भएका छन् । केही सरकारी कार्यालयमा सौर्य ऊर्जा (सोलार) जडान भए पनि हिउँदको समयमा पर्याप्त घाम नलाग्ने भएकाले मोबाइल चार्ज गर्नसमेत समस्या परेको छ ।

    सञ्चार माध्यम र सञ्चारकर्मीहरू पनि प्रभावित भएका छन् । “मोबाइल र ल्यापटप चार्ज गर्न नसक्दा समाचार सङ्कलन र सम्प्रेषणमा निकै कठिनाइ भएको छ,” सञ्चारकर्मी नरजङ तामाङले बताए ।

    यसैबीच, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थल पुगेर मर्मत कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै, हिल्दुम जलविद्युत्को मुहानदेखि फर्बेसम्मको नहरमा भएको चुहावट मर्मत कार्य पनि पूरा गरिएको वितरण केन्द्रले जनाएको छ ।

    स्थानीय बासिन्दाले छिटो विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar