सारथी केबल इन्डष्ट्रिजको कारोबारमा ४१.१५ प्रतिशत वृद्धि, इबिटा मार्जिन पाँच वर्षकै उच्च तहमा

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौं । सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको व्यापार ४१.१५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष कम्पनीले ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।

    उक्त अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) मार्जिन उल्लेखनीय रूपमा सुधारिएको छ। २.९६ प्रतिशत रहेको इबिटा मार्जिन बढेर १६.८७ प्रतिशत पुगेको छ, जुन विगत पाँच आर्थिक वर्ष यताकै उच्च स्तर हो। इबिटा मार्जिन भनेको कम्पनीको कर, ब्याज, ह्रासकट्टी तथा परिशोधनभन्दा अघिको वास्तविक आम्दानीलाई जनाउने सूचक हो।

    इबिटा मार्जिनमा सुधार भए पनि कम्पनीको कर अघिको नाफा भने १ प्रतिशतभन्दा कम रहेको जनाएको छ।

    कम्पनीले ८० करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ। उक्त कर्जामध्ये ४९ करोड रुपैयाँ दीर्घकालीन कर्जा र ३१ करोड रुपैयाँ अल्पकालीन कर्जा रहेका छन्। रेटिङ एजेन्सी इन्फोमेरिक्सले दीर्घकालीन कर्जालाई ‘डबल बी माइनस’ र अल्पकालीन कर्जालाई ‘ए फोर’ को रेटिङ प्रदान गरेको छ।

    भुषाल ग्रुपअन्तर्गतको यस कम्पनीले गत जुलाईमा ‘भुषाल केबल एन्ड वायर इन्डष्ट्रिज प्रालि’बाट रूपान्तरण हुँदै पब्लिक लिमिटेड कम्पनी बनेको हो। यससँगै कम्पनीको नाम परिवर्तन गर्दै ‘सारथी केबल इन्डष्ट्रिज’ राखिएको हो।

    कम्पनीले तामा तथा एलुमिनियमका तार तथा केबल उत्पादन गर्दै आएको छ। रुपन्देही जिल्लामा अवस्थित कारखानासहित कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ।

    हाल कम्पनीका ५ वटा प्रदेशमा २१५ वटा अधिकृत डिलर रहेको जानकारी दिइएको छ। कम्पनीका प्रमुख शेयरधनी अंकित भुषालले ९९.७६ प्रतिशत शेयर स्वामित्व राखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar