रूपेश पाण्डे : पर्सा–३ को विकास र समृद्धि मेरो पहिलो प्राथमिकता

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रूपेश पाण्डे फरक शैली र आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन्। काठमाडौंमा स्थापित व्यवसाय छाडेर पछिल्ला करिब चार वर्षदेखि गाउँ–गाउँ पुग्दै जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका पाण्डे आफूलाई परम्परागत ‘नेता’भन्दा पनि जनताको सुख–दुःखको साथी र विकासको अगुवा पात्रका रूपमा प्रस्तुत गर्दै आएका छन्।

    पाण्डेले व्यवसायिक जीवनमा सफलता पाए पनि आफ्नै जन्मभूमिको अवस्था देखेर राजनीतिमा सक्रिय हुनुपरेको बताएका छन्। उनका अनुसार विगत चार वर्षमा पर्सा–३ का सबै वडामा पुगेर स्थानीय समस्या, आवश्यकता र सम्भावनाको गहिरो अध्ययन गरिसकेका छन्। “अब समस्या मात्र सुन्ने होइन, समाधानसहित अघि बढ्ने समय आएको छ,” उनले भने।

    पर्सा–३ का मुख्य समस्यामध्ये कृषि उपजले बजार नपाउनु गम्भीर चुनौती रहेको पाण्डेको भनाइ छ। किसानले उत्पादन गरेको तरकारी, दूध र अन्डाले उचित मूल्य नपाउँदा युवाहरू रोजगारीका लागि पलायन हुन बाध्य भएको उनले बताए। यस समस्याको दीर्घकालीन समाधानका लागि उनले क्षेत्रमा चारवटा कोल्ड स्टोर स्थापना गरी उत्पादन, भण्डारण र बजार व्यवस्थापनलाई एकीकृत गर्ने योजना सार्वजनिक गरेका छन्।

    शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ संकेत गर्दै पाण्डेले पर्याप्त विद्यालय र स्वास्थ्य संस्था हुँदाहुँदै पनि सेवाको गुणस्तर सन्तोषजनक नरहेको बताए। निर्वाचित भए सांसदका रूपमा नीतिगत भूमिका निर्वाह गर्नुका साथै विद्यालय र स्वास्थ्य संस्थाको नियमित अनुगमनमार्फत सेवाको स्तर सुधार्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

    त्यस्तै खानेपानी, सडक र सिँचाइजस्ता आधारभूत पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ नेतृत्वको इच्छाशक्तिको अभावका कारण भएको दाबी गर्दै पाण्डेले आफू विकास र परिणाममुखी राजनीतिका लागि उम्मेदवार बनेको बताए। पर्सा–३ को समग्र रूपान्तरण नै आफ्नो मुख्य लक्ष्य भएको उनले स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar