“परिवर्तन, सहभागिता र विकासको आधार ‘छाता’” – अशोक टेमानी

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ७, २०८२
  • वीरगञ्ज  – जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीमा रात्रि सभा आयोजना गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित चुनावी अभियानलाई तीव्र बनाएको छ। सभामा पार्टीका शीर्ष नेताहरूले ‘छाता’ चुनाव चिन्हमा मतदान गरी पार्टीलाई जिताउन स्थानीय मतदातासँग अपिल गरेका छन्।

    कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार अशोक कुमार टेमानी (अग्रवाल) ले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरे। उनले ‘छाता’ चिन्हलाई सङ्घीयता, समावेशिता, सुशासन र समृद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै मधेसको आवाज संघीय संसदसम्म पुर्‍याउन यसै चिन्हमा मतदान आवश्यक रहेको बताए। औद्योगिक विस्तार, रोजगारी सृजना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको उनले उल्लेख गरे।

    सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा मधेस प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले जसपा नेपाललाई मधेसको अधिकार र पहिचानको पक्षमा निरन्तर संघर्षरत शक्तिका रूपमा प्रस्तुत गरे। उनले विगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार सुनिश्चित गर्न निर्वाचनमा विजय अपरिहार्य रहेको धारणा राखे। किसान, मजदुर र युवाको हितमा केन्द्रित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

    सभाका क्रममा विभिन्न दल परित्याग गरी दर्जनौँ स्थानीय बासिन्दा जसपा नेपालमा प्रवेश गरेका थिए। नवप्रवेशीहरूलाई टेमानी, कुर्मी लगायतका नेताहरूले स्वागत गरेका थिए। कार्यक्रममा सयौँ स्थानीय, समर्थक तथा कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar