पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह परागको ग्रामीण केन्द्रित चुनावी अभियान तीव्र

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह परागले ग्रामीण क्षेत्रलाई केन्द्रबिन्दुमा राख्दै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारी दर्ता गरेसँगै उनी निर्वाचन क्षेत्रका विभिन्न गाउँ बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल र संवाद गर्दै समर्थन जुटाउन सक्रिय देखिएका छन्।

    ग्रामीण भेगका मतदातासँग भेट्दा सिंह परागले स्थानीयस्तरमा देखिएका शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी र पूर्वाधारसम्बन्धी समस्या ध्यानपूर्वक सुन्दै आएका छन्। उनले जनताको वास्तविक आवश्यकता र पीडालाई नजिकबाट बुझेर त्यसको समाधानका लागि संसद्‌मा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सिंह परागले आफू परम्परागत राजनीतिक शैलीभन्दा फरक अभ्याससहित जनताको बीचमा आएको बताउँदै राजनीति सेवा र उत्तरदायित्वको माध्यम हुनुपर्ने धारणा राखे। “राजनीति भाषण र आश्वासनमा सीमित हुनु हुँदैन, यसले जनताको जीवनमा प्रत्यक्ष परिणाम देखाउनुपर्छ,” उनले भने।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सिंह परागले केवल सरकार परिवर्तनको प्रक्रिया नभई सोच, नेतृत्व र कार्यशैलीमा आमूल परिवर्तनको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। विशेषगरी हालैको जेन–जी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता, जवाफदेहिता र अवसरको मागलाई बेवास्ता गरेर अबको राजनीति अघि बढ्न नसक्ने उनको भनाइ छ।

    “युवा पुस्ताले अब प्रश्न सोधिरहेको छ, जवाफ खोजिरहेको छ,” उनले भने, “युवाले चाहेको पारदर्शी, जवाफदेही र परिणाममुखी नेतृत्व दिनकै लागि म जनताको बीच आएको हुँ।”

    ग्रामीण क्षेत्रका मतदाताहरूले पनि उम्मेदवार सिंह परागले प्रत्यक्ष रूपमा गाउँमै पुगेर समस्या सुन्न थालेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्। लामो समयपछि फरक सोच र नयाँ ऊर्जा बोकेको उम्मेदवार देखिएको भन्दै केही स्थानीयले आशा व्यक्त गरेका छन्।

    उज्यालो नेपाल पार्टीले पर्सा–१ मा जनमुखी, नीतिगत र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने लक्ष्यका साथ चुनावी अभियान अघि बढाइरहेको जनाएको छ। सिंह परागको सक्रिय ग्रामीण भ्रमण र निरन्तर संवादले आगामी निर्वाचनमा क्षेत्रको राजनीतिक माहोलमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar