फिलिपिन्सका राष्ट्रपति मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

  • कालिका खवर
  • बिहिबार, माघ ८, २०८२
  • काठमाडाैँ। फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध नक्कली बाढी नियन्त्रण परियोजनामार्फत करदाताको अर्बौं डलर व्यवस्थित रूपमा दुरुपयोग गरिएको आरोप लगाउँदै महाभियोगको उजुरी दायर गरेका छन् ।

    एघार करोड १० लाख जनसङ्ख्या भएको यस द्वीपसमूह राष्ट्रमा तथाकथित ‘भूत पूर्वाधार परियोजना’ बारे आक्रोश महिनौँदेखि बढ्दै आएको छ । गतवर्ष शक्तिशाली टाइफुनका कारण सम्पूर्ण सहरहरू बाढीमा डुबेपछि यी परियोजनामाथि गम्भीर प्रश्न उठेका हुन् ।

    वामपन्थी राजनीतिक दलहरूको गठबन्धन मकाबायन ब्लकको समर्थनमा दायर गरिएको उजुरीमा राष्ट्रपति मार्कोसले राष्ट्रिय बजेटलाई परियोजनाको नाममा प्याक गरी आफ्ना सहयोगीहरूतर्फ कोष पुनःनिर्देशन गरेर जनताको विश्वास तोडेकाे आरोप पनि लगाइएको छ ।

    निवेदनकर्ताहरूका अनुसार उजुरी हाउस अफ रिप्रेजेन्टेटिभको महासचिवको कार्यालयमा सदनको नियमअनुसार दर्ता गरिएको हो, यद्यपि अधिकारी स्वयं उपस्थित थिएनन् । उजुरीको सारांशमा राष्ट्रपति मार्कोसले पाँच खर्ब ४५ अर्ब ६० करोड अर्ब पेसो (करिब नौ अर्ब २० करोड अमेरिकी डलर) भन्दा बढी बाढी नियन्त्रण कोषको दुरुपयोगलाई संस्थागत गर्दै आफ्ना मनपर्ने सहयोगी र ठेकेदारहरूलाई फाइदा पुर्याएको तथा सन् २०२५ को मध्यावधि निर्वाचनका लागि सार्वजनिक कोषलाई निजी राजनीतिक प्रयोजनमा प्रयोग गरिएको उल्लेख छ ।

    यस उजुरीमा राष्ट्रपतिले ठेक्कापट्टाबाट प्रत्यक्ष रूपमा घुस मागेकाे आरोपसमेत समावेश गरिएको छ । तर यो आरोप अनुसन्धानका क्रममा देश छाडेर बाहिरिएका एक पूर्व सांसदले लगाएका प्रमाणित नभएका दाबीमा आधारित रहेको बताइएको छ । “भ्रष्टाचारको व्यापक योजनामा राष्ट्रपतिको संलग्नताले उहाँलाई जवाफदेही बनाउन महाभियोग आवश्यक बनाउँछ । जनतालाई बारम्बार र व्यवस्थित रूपमा लुटिएको छ”, उजुरीको सारांशमा उल्लेख गरिएको छ ।

    राष्ट्रपति मार्कोसले भने आफूले नै भूत परियोजनाको विषयलाई अगाडि सारेको र अनुसन्धान अघि बढाउन भूमिका खेलेको दाबी गर्दै आएका छन्, जसले निर्माण कम्पनीका मालिक, सरकारी अधिकारी र सांसदहरू संलग्न रहेको देखाएको उनको भनाइ छ । तर उजुरीकर्तामध्ये लिजा माजाले यी कदमहरू केवल दोष पन्छाउने प्रयास भएको बताउँदै भने, “हामीलाई लाग्छ यो अनुसन्धान ढाकछोप मात्र हो, किनकि वास्तविक रूपमा उहाँ नै यस भ्रष्टाचारका प्रमुख हुनुहुन्छ ।”

    गतवर्ष पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेको गिरफ्तारी र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा स्थानान्तरणसँग सम्बन्धित घटनालाई उद्धृत गर्दै यस हप्ता मार्कोसविरुद्ध दायर गरिएको यो दोस्रो उजुरी हो । फिलिपिन्सको संविधानअनुसार काङ्ग्रेसका ३०० भन्दा बढी सदस्यमध्ये कम्तीमा एक जनाको समर्थन भए कुनै पनि नागरिकले महाभियोग उजुरी दायर गर्न सक्छ ।

    युनिभर्सिटी अफ सान्टो टोमासका राजनीति विज्ञान विभागका अध्यक्ष प्राध्यापक डेनिस कोरोनासिओनले राष्ट्रपतिका सहयोगीहरूले भरिएको काङ्ग्रेसमा यस उजुरीले धेरै अघि बढ्ने सम्भावना कम रहेको बताए । उनका अनुसार यो उजुरीले न्यायसम्बन्धी सदन समितिको स्वीकृति पाउने सम्भावना न्यून छ ।

    यसअघि सन् २०२४ मा उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध तीनवटा उजुरी दर्ता भएका थिए । ती उजुरीका आधारमा प्रतिनिधिसभाले महाभियोग गरेको भए पनि सिनेटमा भएको परीक्षण असफल भई मुद्दा फिर्ता पठाइएको थियो । पछि सर्वोच्च अदालतले एक वर्षभित्र एकभन्दा बढी महाभियोग कार्यवाही गर्न नपाइने संवैधानिक प्रावधान उल्लङ्घन भएको ठहर गर्दै उक्त मुद्दा खारेज गरिदिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar