पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

  • कालिका खवर
  • शनिबार, कार्तिक ८, २०८२
  • भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तरगत तिवारीभञ्याङ-अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ । भोजपुर-लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने यो सडक गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिकाको केन्द्र च्याङ्ग्रेसम्म कालोपत्रे गरिएको हो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ-अधेँरीघाटसम्मको कुल ३१ किलोमिटर सडकखण्डमध्ये अहिलेसम्म तीन किलोमिटर कालोपत्रे सकिएको बताए। उनका अनुसार सङ्घीय समपूरक बजेट र गाउँपालिकाको लगानीमा यो सडक कालोपत्रे भएको हो। भट्टराईले भने, “यो सडक खण्डको तीन किलोमिटर कालोपत्रे सम्पन्न भयो। यस आर्थिक वर्षमा थप कालोपत्रेका लागि पनि बोलपत्र आह्वान भइसकेको छ।”

    गाउँपालिका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा अगाडि बढाएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिएको बताए। भोजपुरवासीलाई तराईका जिल्लाहरूसँग जोड्ने यो छोटो मार्ग भएकाले प्राथमिकताका साथ काम सुरु गरिएको उनको भनाइ छ।

    “यो हाम्रो गाउँपालिकाको गौरवको आयोजना हो,” अध्यक्ष राईले भने, “यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो बाटो पनि हो। अहिले तीन किलोमिटर कालोपत्रे भइसक्यो। बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्रे गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाको सीमित बजेटमा पनि दुई वर्षअघिदेखि निरन्तर कालोपत्रेको काम गरिरहेका छौँ।”

    सडक कालोपत्रे भएपछि स्थानीयमा उत्साह बढेको वडा नम्बर ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताइन्। सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज भएको उनको भनाइ छ। खत्रीले भनिन्, “तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्रे होला भन्ने हामीलाई लागेको थिएन। अहिले सडक कालोपत्रे बन्दा खुसी लाग्यो। आवतजावत सहज बन्यो। हामी निकै खुसी छौँ।”

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्रविधिमा बनिरहेको छ। नालीसहितको आठ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। यो सडकले पौवादुङमाका छवटा वडामध्ये पाँच वटा वडालाई समेटेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar