पाँच वर्षमा एकपटक देखिने उम्मेदवारप्रति सचेत रहन प्रदीप यादवको अपिल, सूर्यमा मतदानको आग्रह

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • वीरगञ्ज नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ का रानीघाट, श्रीपुर, बहुवरीलगायत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। अभियानमार्फत उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विगतमा आफूले गरेको विकास कार्यलाई मुख्य एजेन्डा बनाएका छन्।

    घरदैलोका क्रममा यादवले आफूलाई क्षेत्र विकासका लागि समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न आग्रह गरे। सांसद तथा मन्त्री पदमा रहँदा गरेका कार्यहरूको स्मरण गराउँदै उनले भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर र मस्जिदहरूको अवस्था कस्तो थियो? म निर्वाचित भएपछि भएका विकास तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ।”

    यादवले आफूलाई क्षेत्रको हरेक टोल र समस्याबारे जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै अन्य उम्मेदवारहरूलाई लक्षित गर्दै कटाक्षसमेत गरे। “मलाई यस क्षेत्रको प्रत्येक टोल, समस्या र समाधानबारे पूर्ण जानकारी छ। तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ,” उनले भने।

    उनले एमालेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवादउन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धतासँग जोडेको बताए। पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग सम्पर्क गर्ने प्रवृत्तिप्रति सचेत रहन मतदातालाई आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन्। म सधैँ जनताको सुख–दुःखमा साथ दिनेछु।”

    यादवले गरिबी निवारण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणलाई आफ्नो प्राथमिकतामा राखेको दाबी गरे।

    कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायत नेताहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar