प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौँ : मिराज ढुंगाना

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८२
  • काठमाडौं, १ कात्तिक । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भदौ २३ र २४ मा भएको ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् ।

    शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौँ, विकासवादी हौँ,’ ढुंगानाले भने । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्‍याए ।

    ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने ।

    ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै यो माग पूरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए । ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । योबिना हामी कतै जानेवाला छैनौँ,’ ढुंगानाले भने ।

    ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभौलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । ‘हामी भाँडभौलो मच्चाउन आएका होइनौँ । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar