प्राकृतिक विपद्का प्रभावितका लागि आश्रमद्वारा खाद्य सामग्री, गीता वितरण तथा विशेष पूजा–यज्ञ

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौँ । प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा प्रभावितजनको सहयोग, शान्ति तथा कल्याणको कामना गर्दै श्री श्रीधराचार्य भक्ति योग आश्रम, चाबहिल, काठमाडौँले नुवाकोटस्थित गुरुकुलमा खाद्य सामग्री, श्रीमद्भगवद्गीता पुस्तक तथा प्रसाद वितरण गरेको छ।

    विपद्का कारण प्रभावित बनेका नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै आश्रमले गुरुकुलमा आवश्यक खाद्य सामग्रीसहित धार्मिक तथा आध्यात्मिक सामग्री वितरण गरेको हो। यस अवसरमा गुरुकुलका बटुकहरूले श्रीमद्भगवद्गीताको ११औँ अध्यायको पाठ–पारायण समेत गरेका थिए।

    पाठ–पारायणमार्फत प्राकृतिक विपद्बाट प्रभावित सम्पूर्ण जनसमुदायको मंगलकामना तथा दिवंगत आत्माहरूको कल्याणका लागि प्रार्थना गरिएको थियो।

    यसै क्रममा आश्रमका स्वामीजीद्वारा श्री सूर्यमती तथा त्रिशूली नदीको तटमा विशेष पूजा, वन्दना तथा यज्ञ सम्पन्न गरिएको छ। उक्त धार्मिक अनुष्ठान प्रभावितजनको मंगलकामना, दिवंगत आत्माहरूको कल्याण तथा सम्पूर्ण मानवजाति र विश्वको सुख, शान्ति, कल्याण एवं मंगलकामनाका लागि गरिएको बताइएको छ।

    अनुष्ठानका क्रममा श्रीविष्णुसहस्रनाम पाठ समेत गरिएको थियो। प्राकृतिक विपद्को यस कठिन घडीमा मानवीय सहयोगसँगै आध्यात्मिक प्रार्थना र सद्भावमार्फत प्रभावित समुदायमा आशा, शान्ति र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम गरिएको आश्रमले जनाएको छ।

    आश्रमले विपद्का बेला प्रभावित समुदायको साथमा रहँदै मानवीय सेवा, धार्मिक–आध्यात्मिक गतिविधि तथा लोककल्याणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar