निर्माण व्यवसायीमाथि राज्यको आतंक बढेको मुख्यमन्त्री बानियाँको टिप्पणी, वागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभा सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, पुस ४, २०८२
  • काठमाडौँ । वागमती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँस्थित बिजी ब्याङ्क्वेटमा आयोजित साधारण सभामा वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रम महासंघ बागमती प्रदेशका अध्यक्ष छत्र तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राज्यले पछिल्लो समय निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गर्नुभयो । विकास र निर्माणका कामलाई अघि बढाउने नाममा केवल स्टन्टबाजी नगर्न तीनै तहका सरकारलाई उहाँले सचेत गराउनुभयो । विधि र प्रक्रिया पूरा नगरी टेन्डर आह्वान गर्ने प्रवृत्तिका कारण विकास तथा निर्माणका कामले अपेक्षित गति लिन नसकेको उहाँको भनाइ थियो ।

    मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले समेत पछिल्लो समय अनावश्यक रूपमा दुःख दिने गरेको गुनासो गर्नुभयो । विकास–निर्माणलाई प्रभावकारी बनाउन सरकार, बैंक तथा निजी क्षेत्रबीच समन्वय र विश्वासको वातावरण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

    त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफूले काम गरेको देखाउने उद्देश्यले गैरकानूनी ढंगले टेन्डर आह्वान गर्ने जस्ता कार्य गरिरहेको भन्दै मुख्यमन्त्री बानियाँले आपत्ति जनाउनुभयो । यस्तो प्रवृत्तिले न त पारदर्शिता कायम हुने न त दिगो विकास सम्भव हुने उहाँको भनाइ थियो ।

    साधारण सभामा सहभागी निर्माण व्यवसायीहरूले नीति, नियम तथा कार्यान्वयनमा देखिएका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै सहज र व्यवसायमैत्री वातावरण सिर्जना गर्न माग गरेका थिए । सो अवसरमा महासंघ बागमती प्रदेशका अध्यक्ष छत्र तामाङले निर्माण व्यवसायीलाई विकासको साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिँदै स्पष्ट नीति, सरल प्रक्रिया र समयमै भुक्तानीको व्यवस्था सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar