नेपालको राष्ट्रिय स्वाभिमान विश्वस्तरमा माथि उठाए : ओली

  • कालिका खवर
  • सोमवार, फाल्गुन १८, २०८२
  • झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताए।

    उनले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्सामा राखेर बलियो दाबी प्रस्तुत गरिएको बताए । यसका साथै उनले उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको बताए ।

    विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने बाटो चीनतिरबाट पनि खुलेको उनको भनाइ छ । ओलीले राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिबद्धता दोहोर्‍याए ।

    उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको दाबी गरे । आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गरे ।

    उनले मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको सुरुवात आफ्नै पहलमा भएको बताए । उनले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गरे ।

    सुरुङ मार्ग, रेल मार्ग र भूकम्पपछिको पुनःनिर्माणमा साढे ८ लाख घर बनाएको तथ्य प्रस्तुत गर्दै उनले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गरे । उनले एकैपटक ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar