नेपाल राष्ट्र बैंक र आरबीआईको संयुक्त प्राविधिक समन्वय समितिको नवौँ बैठक काठमाडौंमा सम्पन्न

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी) र भारतीय रिजर्व बैंक (आरबीआई) बीच संयुक्त प्राविधिक समन्वय समिति (जेटीसीसी) को नवौँ बैठक काठमाडौंमा सम्पन्न भएको छ।

    गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैठकको उद्घाटन गर्दै मौद्रिक र वित्तीय क्षेत्रसँग सम्बन्धित अन्तरदेशीय विषयहरूमा परिणाममुखी संवाद र प्राविधिक समाधानका लागि जेटीसीसी प्रभावकारी प्लेटफर्म बन्दै गएको बताए।

    उद्घाटन समारोहमा उनले मौद्रिक नीति, विदेशी विनिमय व्यवस्थापन, नियमन, सुपरिवेक्षण तथा भुक्तानी प्रणालीजस्ता क्षेत्रमा अनुभव र अभ्यासको आदानप्रदानलाई जेटीसीसीले महत्त्वपूर्ण स्तरमा पुर्याएको उल्लेख गरे। उनले दुई केन्द्रीय बैंकबीचको संस्थागत सम्बन्ध अझ सुदृढ र प्राविधिक सहयोग सबल हुँदै जाने विश्वास पनि व्यक्त गरे।

    बैठकमा आरबीआईका कार्यकारी निर्देशक तथा जेटीसीसी संयोजक अर्णबकुमार चौधरीले मुद्रा व्यवस्थापन, भुक्तानी प्रणाली र वित्तीय समावेशीकरणमा समिति मार्फत धेरै सकारात्मक प्रगति भएको बताए। उनले आगामी दिनमा पारस्परिक सहकार्य अझ प्रभावकारी हुने आशा व्यक्त गरे।

    कार्यकारी निर्देशक राजनविक्रम थापाले स्वागत मन्तव्य राख्दै द्विपक्षीय हित प्रवर्द्धनका लागि संयन्त्रलाई अझ सार्थक बनाउनु पर्नेमा जोड दिए।

    बैठकको दोस्रो सत्रमा दुवै केन्द्रीय बैंकका अधिकारीहरूले अन्तरदेशीय इलेक्ट्रोनिक भुक्तानी सहजीकरण, मौद्रिक नीति, तरलता व्यवस्थापन तथा विदेशी विनिमय व्यवस्थापन लगायतका विषयमा छलफल गरे।

    बैठकमा राष्ट्र बैंकका उच्च अधिकारीहरू र आरबीआईका कार्यकारी निर्देशक, महाप्रबन्धक तथा प्रबन्धकहरू सहभागी थिए। अन्त्यमा भारतीय प्रतिनिधिहरूले भारतीय अर्थतन्त्रको समष्टिगत स्थिति र भुक्तानी प्रणाली विकासबारे प्रस्तुति दिए।

    जेटीसीसी सन् २०१६ मे १३ मा गठन भएको हो, जसले द्विपक्षीय वित्तीय विषयमा समन्वय र समाधानका लागि नियमित रूपमा बैठक गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar