मनकामनामा १९ औँ वार्षिक उत्सव, बाजागाजासहित रथयात्रा

  • कालिका खवर
  • मङ्लबार, बैशाख २२, २०८३
  • गोदावरी (चापागाउँ) –लेले काब्रेमा अवस्थित मनकामना माई मन्दिरको १९ औँ वार्षिक उत्सव मंगलबार मनाइँएको छ । मनकामना फूलचोकी माईको मन्दिर संरक्षण तथा सुधार समितीले हरेक वर्षको बैशाख २२ गते विभिन्न धार्मीक कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउने गरेको छ ।

    यसपालिको वार्षिक उत्सबमा पनि बाजागाजासहितको लावालस्करले मनकामना मन्दिर प्रांगणबाट मनकामना देवीको प्रतिकलाई सिंगारीएको रथमा विराजमान गराई लेलेका विभिन्न स्थानमा परिक्रमा गरिएको थियो ।

    यसक्रममा काब्रेका वासिन्दा र समितीका सदस्यले रथलाई बोकेका थिए । रातो पहेलो पहिरनमा सजिएका महिलाहरुले नाच्दै र भजन गाउँदै कलशयात्रामा सहभागिता जनाएका थिए ।
    परिक्रमाका क्रममा भजन कीर्तन र धार्मीक ध्वनी मिश्रित बाजाको तालमा भक्तजनहरुले आआफ्ना घरका कलशलाई तिलेश्वरसँगैको सरस्वती कुण्डबाट जल ल्याएर मनकामनामा चढाइएको समितीका अध्यक्ष सुमन पौडेलले बताए । ‘

    वार्षिक उत्सवका अवसरमा गुरु पुरोहित एवं पण्डित बैकुण्ठ लुईटेलले हवनसहित पूजा आजा गराएका थिए । नगर परिक्रमासँगै कलशयात्रा समापन गरेपछि मन्दिरमै भेला भएका भक्तजनहरुले सामूहिक रुपमा अग्नी कुण्डमा चरु हालेका थिए । वार्षिक उत्सव समारोहमा वडा नम्बर ५ का वडाअध्यक्ष मिलन सिलवाल, समाजसेवीहरु बच्चुराम सिजापति , रघुनाथ थापा लगायत उपस्थित थिए ।
    माताको शक्तिका कारण २०६४ सालदेखि हरेक वर्षको बैशाख २२ गते वार्षिक उत्सवका दिन २–४ छिटा भएपनि आकाशबाट जल वर्षा भएको कोषाध्यक्ष आरबिन सिलवालले बताए ।
    यस मन्दिरमा आएर पूजा आजा गर्दै संकल्प गरेको खण्डमा चिताएको पुग्ने धार्मीक विश्वास छ । मन्दिरमा प्रत्येक महिनाको २२ गते यहाँका स्थानीय महिलाहरुले हवन गर्ने गरेका छन् ।

    विस २०६४ साल बैशाख २२ गते प्राण प्रतिष्ठा गरेर मनकामना मन्दिरको स्थापना गरिएको समितीका सचिव उमेश घिमीरेले जानकारी दिए । उनका अनुसार गोरखाको मनकामना मन्दिरबाट विधिवत् रुपमा जल र बत्ति सल्काएर ल्याई यहाँ देवीको स्थापना गरिएको हो।

    स्थानीय सन्त बहादुर नगरकोटीले सपनामा मनकामना देवी देखेपछि काब्रेका वासिन्दाहरुले छलफल गरी मनकामना मन्दिर बनाउने निर्णय गरेका थिए । २०६२ सालमा मन्दिर बनाउनका लागि लेलेका पूर्व प्रधानपञ्च हर्ष बहादुर पौडेलको अध्यक्षतामा समिती गठन भएको थियो । तीन लाख जनश्रमदान र दुई लाख रुपैयाँ बराबरको जिन्सी सामान उठाएर मन्दिर बनाउन सुरु गरिएको थियो ।

    मन्दिरको स्थापनाकालमा पूर्व उद्योग सचिव भरत बहादुर थापा लगायतको विशिष्ट योगदान रहेको थियो । मन्दिरको ब्यवस्थापनका लागि यहीबाट उठ्ने रकमले खर्च धान्ने गरेको कोषाध्यक्ष सिलवालले बताए । मन्दिर लालिगुँरास सामुदायिक वन उपभोक्ता समिती अन्र्तगत ५९ हेक्टर धार्मिक वन क्षेत्रमा पर्छ ।

    मनकामना फूलचोकी माईको मन्दिर संरक्षण तथा सुधार समितीका संस्थापक अध्यक्ष ठूलो राम बहादुर तामाङ रहेका छन् । त्यसपछि हर्ष बहादुर महत , राजेन्द्र सिल्वाल, रवीन्द्र घिमीरे अध्यक्ष भए । त्यसपछि फेरी रोजेन्द्र सिल्वाल र हाल सुमन पौडेल अध्यक्ष रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar