महासचिवका उम्मेदवार पुण्यराम लगेजुले अघि सारे सुशासन, पारदर्शिता र व्यवसायी हितका एजेन्डा

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट पुण्यराम लगेजु महासचिव पदका उम्मेदवार बनेका छन्। परिषद्को हालका सचिव रहेका लगेजुले यसअघि कोषाध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। परिषद्मा विभिन्न जिम्मेवारी सम्हाल्दै आर्जन गरेको अनुभवलाई संस्थाको थप सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन्।

    लगेजुले परिषद्को संस्थागत विकास, व्यवसायीका हकहितको संरक्षण तथा ठमेलको पर्यटन प्रवर्द्धनका लागि आफूले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै आगामी कार्यकालमा महासचिवका रूपमा परिषद्को प्रशासनिक तथा संस्थागत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको बताए।

    महासचिव पदका उम्मेदवार पुण्यराम लाछेजुले भने, “कोषाध्यक्ष र सचिवका रूपमा काम गर्दा परिषद्को संरचना, व्यवसायीका आवश्यकता र संस्थाका चुनौतीलाई नजिकबाट बुझ्ने अवसर पाएँ। अब महासचिवका रूपमा त्यो अनुभवलाई परिणाममा रूपान्तरण गर्दै परिषद्लाई अझ व्यवस्थित, पारदर्शी, सक्रिय र व्यवसायीमैत्री संस्थाका रूपमा स्थापित गर्न पूर्ण समर्पणका साथ काम गर्नेछु।”
    उनले परिषद्भित्र सुशासन, प्रभावकारी समन्वय, छिटो सूचना प्रवाह, सदस्य व्यवसायीसँग नियमित संवाद तथा पर्यटन प्रवर्द्धनका नवीन कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए। साथै, सरकारी निकाय, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थासँग सहकार्य विस्तार गरी ठमेललाई अन्तर्राष्ट्रियस्तरको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप सशक्त बनाउने योजनामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

    लगेजुले अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानल अनुभवी, इमानदार र व्यवसायप्रति उत्तरदायी टोली रहेको उल्लेख गर्दै परिषद्लाई नयाँ ऊर्जा, प्रभावकारी नेतृत्व र परिणाममुखी कार्यशैली प्रदान गर्ने विश्वास व्यक्त गरे।
    आगामी २०८३ असार २७ गते हुने निर्वाचनमा सक्षम, अनुभवी र व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने नेतृत्व चयन गर्न सम्पूर्ण सदस्य व्यवसायीलाई आग्रह गर्दै महासचिव पदका उम्मेदवार पुण्यराम लाछेजुले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar