मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव

  • कालिका खवर
  • सोमवार, पुस २१, २०८२
  • धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस भूमि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै विविधता नै मधेसको सामर्थ्य र शक्ति भएको बताएका छन्। मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने उनले स्पष्ट पारेका हुन्।

    हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताएका छन्। धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ।

    प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाइने जानकारी दिएका छन्। साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने उनले स्पष्ट चेतावनी दिएका छन्।

    मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गरेका छन्। समस्या समाधान सधैं संवादबाट हुने र द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गर्दै उनले पछिल्लो समय भएका क्षति र विध्वंसात्मक गतिविधिप्रति खेद व्यक्त गरेका छन्। मधेस सधैं शान्ति, सद्भाव र मानवीय मूल्यको प्रतीकका रूपमा रहिरहने प्रतिबद्धता पनि उनले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar