कुमारी बैंकको नाफा २.०१ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफामा सामान्य गिरावट आएको छ। बैंकको वित्तीय विवरण अनुसार, तीन महिनामा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

    गत आवको सोही अवधिमा बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा २.०१ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि घटेको छ। बैंकको सञ्चालन नाफा ८.११ प्रतिशतले घटेर १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कायम भएको छ।

    तर, बैंकको खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले बढेर २ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ। संचालन नाफामा गिरावट र इम्पेयरमेन्ट चार्ज वृद्धिले नै खुद नाफामा असर पुर्‍याएको हो।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    बैंकको खराब कर्जा (NPL) ६.९८ प्रतिशत पुगेको छ, जुन गत आवको पहिलो त्रैमासको ४.९६ प्रतिशतको तुलनामा बढेको हो।

    हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकले जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ राखेको छ।

    समीक्षा अवधिमा बैंकको निक्षेप १.१६ प्रतिशतले घटेर ३ खर्ब ६० अर्ब ४० करोड ६६ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३.२५ प्रतिशतले बढेर २ खर्ब ६९ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।

    हाल बैंकको प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ११ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar