कुम्हालटोल–रामटोलमा रामकिशोर सिंह (पराग) को घरदैलो, “युवालाई रोजगारी र टोललाई पूर्वाधार” मुख्य एजेन्डा

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले वीरगञ्ज महानगरपालिका वडा नं. ७ अन्तर्गत पर्ने कुम्हालटोल र रामटोलमा विस्तृत घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमअन्तर्गत उनले स्थानीयवासी, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बस्तीका समस्या र आवश्यकताबारे जानकारी लिएका थिए।

    घरदैलोका क्रममा स्थानीयहरूले बस्ती व्यवस्थापन, ढल–नाला निर्माण, सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँचजस्ता आधारभूत विषयमा ध्यानाकर्षण गराएका थिए। वर्षौंदेखि नाला व्यवस्थापन नहुँदा वर्षायाममा डुबानको समस्या हुने र कच्ची सडकका कारण आवतजावतमा कठिनाइ भइरहेको गुनासो स्थानीयले राखेका थिए।

    युवाहरूले विशेषगरी रोजगारी अभावको विषय उठाउँदै पर्याप्त अवसर नहुँदा केही युवा लागुऔषध दुर्व्यसनतर्फ आकर्षित भइरहेको बताएका थिए। उनीहरूले सीपमूलक तालिम, खेलकुद पूर्वाधार तथा स्वरोजगार कार्यक्रम आवश्यक रहेको माग गरेका थिए।

    उम्मेदवार सिंहले स्थानीय समस्या गम्भीर रहेको स्वीकार गर्दै आफू निर्वाचित भएलगत्तै युवालाई लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे। “रोजगारी सिर्जना, सीप विकास तालिम र साना उद्यम प्रवर्द्धनमार्फत युवालाई आफ्नै ठाउँमा अवसर उपलब्ध गराइनेछ,” उनले भने। साथै, बस्तीस्तरमा नाला तथा सडक निर्माणलाई प्राथमिकतामा राख्ने, सामुदायिक विद्यालयको सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने योजना रहेको जानकारी दिए।

    कार्यक्रमका क्रममा केही स्थानीयवासीले परिणाममुखी र दृढ नेतृत्वको आवश्यकता औंल्याउँदै कुलमान घिसिङ जस्तै काम गर्ने शैली अपनाउन सुझाव दिएका थिए। उनीहरूले “काम देखिने नेतृत्व चाहिन्छ” भन्दै सिंहप्रति विश्वास व्यक्त गरेका थिए।

    घरदैलो कार्यक्रममा स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने रणनीतिमा सक्रिय देखिएका सिंहले पर्सा–१ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar