कृष्णपुरको दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा सास्ती खेप्दै

  • कालिका खवर
  • शनिबार, कार्तिक १५, २०८२
  • कञ्चनपुर, १५ कात्तिक । कृष्णपुर नगरपालिका–१ दोमिल्ला खोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । बर्सातका बेला आउने बाढीले खोला तर्न सकिँदैन भने हिउँदका बेला बाढीको पानीले बनाएका खाल्डाखुल्डीले खोला पार गर्न निकै कठिनाइ हुने गरेको छ । खोलाको खाल्डाखुल्डीमा रहेका चिप्ला ढुङ्गामा चिप्लिएर दुर्घटना हुने गरेको छ । पुल निर्माणका लागि पटक–पटक माटो परीक्षण र सर्वेक्षण भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य अघि बढ्न नसकेको स्थानीय बासिन्दा बताउनुहुन्छ । “हरेक निर्वाचनको अवधिमा राजनीतिक दलका प्रतिनिधिहरू फित्ता बोकेर नदीको दूरी नाप्ने र माटो परीक्षण गर्न प्राविधिक टोली खटाउने कार्य गर्छन्”, स्थानीय ८० वर्षीय नरबहादुर बोहराले भन्नुभयो, “चुनाव सकिएपछि कोही पनि फर्केर आउँदैन, खोलाको सास्ती दशकौँदेखि खेप्दै आएका छौँ ।” बोहराका अनुसार पुल नहुँदा विशेषगरी बर्सातका बेला ठूलो समस्या हुने गरेको छ ।

    “खोला घटेपछि मात्रै वारपार गर्न सकिन्छ, कहिलेकाहीँ बाटै फर्किनुपर्छ”, उहाँले भन्नुभयो, “यस वर्ष मात्रै खोलामा बगेर दुई जनाको ज्यान जाने अवस्था आएको थियो तर समयमै उद्धार गर्न सफल भएर ज्यान बच्यो ।” स्थानीय गोविन्द मालले विद्यालय जाने बालबालिका खोलामा आउने बाढीका कारण सबैभन्दा बढी प्रभावित हुने बताउनुभयो । “बर्सातका बेला बालबालिकालाई खोला पार गर्न कठिन हुन्छ, कहिलेकाहीँ खोला घट्दासम्म राति अबेर सम्म पर्खनुपर्छ”, उहाँले भन्नुभयो, “बालबालिका विद्यालयबाट छुट्टी भएर आएपछि लिनका लागि खोलाको डिलमै ढुकेर बस्नुपर्ने बाध्यता छ ।” “चुरे क्षेत्रअन्तर्गत पर्ने उक्त खोलामा बर्सातका बेला बाढी आउँछ र दुवै किनार भरिन्छ”, माधवी नेपालीले भन्नुभयो, “हिउँदमा पानी घटे पनि खोलामा बनेका खाल्डाखुल्डी र चिप्ला ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहन्छ ।”

    उक्त खोला तरेर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी, पिलरीफाँटा, कृष्णपुर–१ दोमिल्ला, सुन्दरीफाँटा, पहरीया र श्रीपुर गाउँका बासिन्दा ओहरदोहर गर्ने गर्दछन् । यही बाटो भएर नायल पर्यटकीय क्षेत्रसम्म पुग्ने आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ । बर्सातका बेला खोला तर्न नसक्दा दोमिल्ला, सुन्दरीफाँटा, पहरीयालगायतका बासिन्दाले नजिकका बजार झलारी र कलुवापुर पुग्नका लागि लामो वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय बासिन्दाले लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका छन् । पुल निर्माण भएमा विद्यालय जाने विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणको आवतजावत सहज हुने र आर्थिक गतिविधिमा वृद्धि हुने उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar