‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • काठमाडौ । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ हाम्रो बालापन नेपालका अध्यक्ष मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रममा अभिभावक, शिक्षाविद्, मनोविद् तथा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रममा मथुरा थापाद्वारा लिखित “कोमल अभिभावकत्व” पुस्तक कार्यक्रममा प्रमुख अथिति तथा प्रतिनिधिसभा सदस्य डा. धनञ्जय रेग्मीद्वारा औपचारिक रूपमा विमोचन गरिएको हो।

    उक्त पुस्तकमा बालबालिकालाई माया, ममता, स्नेह र सकारात्मक व्यवहारमार्फत कसरी हुर्काउन सकिन्छ भन्ने विषयलाई व्यावहारिक र अनुभवजन्य ढंगले प्रस्तुत गरिएको जनाइएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य डा. धनन्जय रेग्मीले बालबालिकाको मानसिक स्वास्थ्यप्रति सचेत रहन अभिभावकलाई आग्रह गर्नुभयो।

    उहाँले सामान्य किसिमको तनावले समेत बालबालिकाको मानसपटलमा गम्भीर असर पार्न सक्ने उल्लेख गर्दै अभिभावकले उनीहरूप्रति सधैं माया, ममता र स्नेह देखाउनु अत्यावश्यक रहेको बताउनुभयो।
    ‘बालबालिकाहरू कोमल मनका हुन्छन्, उनीहरूको क्षमता विकासका लागि सकारात्मक वातावरण सिर्जना गर्नु र सिकाउने जिम्मेवारी अभिभावकको हो,’ उहाँले भन्नुभयो।

    कार्यक्रममा मनोविद् डा गङ्गा पाठकले बालबालिकाको भावनात्मक विकासमा अभिभावकको व्यवहार निर्णायक हुने धारणा राख्नुभयो। उहाँले बालबालिकालाई डर, दबाब वा कठोर व्यवहारभन्दा पनि समझदारी, सहानुभूति र संवादमार्फत मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो।

    त्यसैगरी साहित्यकार डा बिदुर चालिसेले पुस्तकले अभिभावकलाई बालबालिकासँग व्यवहार गर्ने सही तरिका सिकाउने विश्वास व्यक्त गर्दै यसलाई सबै अभिभावकका लागि उपयोगी कृति भएको बताउनुभयो।
    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिदप्रसाद बागचन्द, नेपाल प्रेस काउन्सिलका सदस्य शान्तराम बिडारी, नेपाल पत्रकार महासंघका अध्यक्ष शोभा अर्याल, प्याब्सन ललितपुरका अध्यक्ष अर्जुन महर्जन लगायतले असल र कुशल अभिभावक बन्नका लागि यो पुस्तक अति नै उपयोगी भएको भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

    पुस्तककी लेखिका मथुरा थापाले आफूले बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अनुभवलाई पुस्तकमा समेटेको जानकारी दिनुभयो।

    देशका विभिन्न स्थानमा भ्रमणका क्रममा बालबालिका र अभिभावकबीच देखिएका व्यवहारिक समस्या, चुनौती र समाधानका उपायहरूलाई समावेश गरिएको उहाँको भनाइ थियो।
    ‘बालबालिकालाई गर्ने व्यवहार, उनीहरूलाई रिझाउने र सिकाउने तरिका यस पुस्तकमा समेटिएको छ, जसले अभिभावक र बालबालिकाबीचको सम्बन्ध अझ सुदृढ बनाउनेछ,’ उहाँले भन्नुभयो।
    लेखक थापाले बाल मनोविज्ञान, अभिभावकको भूमिका, बालबालिकाको भावनात्मक विकास तथा उनीहरूसँग गरिने व्यवहारका विभिन्न पक्षलाई सरल भाषामा व्याख्या गर्नुभएको थियो ।

    आयोजक संस्थाले यस्ता कार्यक्रममार्फत अभिभावक शिक्षा र बाल अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।
    उक्त कार्यक्रमले अभिभावकत्वको बदलिँदो स्वरूप, बालबालिकाको मानसिक तथा भावनात्मक विकासमा आवश्यक संवेदनशीलता र सकारात्मक सोचको महत्वलाई उजागर गरेको सहभागीहरूको भनाइ थियो।

    “कोमल अभिभावकत्व” पुस्तकले अभिभावकलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्दै बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

    कार्यक्रममा समाजसेवा, पत्रकारिता र शैक्षिक क्षेत्रमा योगदान पु¥याउनुहुने व्यक्तित्वहरु समेत सम्मानित हुनुभएको छ । बाल मनोविद डा. गंगा पाठक, राससका पत्रकार प्रकाश सिलवाल, समाजसेवी तथा फोटा पत्रकार पासाङकाजी शेर्पा लगायतका व्यक्तित्वहरु लाई हाम्रो बालापान नेपालले सम्मान गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar