काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेको छु : गगन थापा

  • कालिका खवर
  • शनिबार, माघ १७, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं क्षेत्र–४ का पार्टी कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।

    शनिबार पार्टीको निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले २०७० सालमा पहिलोपटक प्रत्यक्ष निर्वाचित हुने सोचका साथ काठमाडौं क्षेत्र–४ बाट उम्मेदवार बनेको अनुभव समेत सुनाए । थापाले २०७४ को निर्वाचन सम्झँदै नेकपा माओवादी र एमाले एक भएर चुनावमा आउदा समेत संसद पुगेर काम गर्ने मौका पाएको बताए ।

    उनले भने, ‘त्यो बेला सजिलो अवस्थामा थिएन । नेकपा माओवादी र एमाले एक भएर चुनावमा थिए । कांग्रेस केवल २३ ठाउँमा मात्र विजयी भएको थियो । म डराउँथेँ तर तपाईंहरुले ढाढस दिनुभयो । जसका कारण म संसदमा पुगेँ र काम गर्ने मौका पाएँ । त्यो मौका नपाएको भए म महामन्त्री भएर स्थापित हुनै सक्दिनथेँ ।’

    उनले सर्लाही–४ जाने निर्णय आफ्नो लागि सहज नभएको सुनाउँदै भने, ‘म पहिलो पटक काठमाडौंबाट उमेदवारी नदिएर सर्लाहीको क्षेत्र नं ४ मा गएको छु । यस पटक काठमाडौं सहज थियो । सायद धेरै वर्ष पछाडि रुन मन लागेको पनि छ । अरु बेला पनि रुन मन लाग्छ तर आँशु लुकाउन पर्छ । यो पटक चाहेर मैले आँशु लुकाउन सकिनँ । यो ठाउँ छाडेर जाँदा मन रोइरहेको थिए ।’

    थापाले आफ्नो भावनात्मक अभिव्यक्तिमा पार्टीका कार्यकर्ताहरूको योगदान र साथको विशेष महत्व औंल्याए । उनले निर्वाचन परिचालन मूल समितिको घोषणासँगै पार्टीको आगामी चुनावी तयारीलाई सुदृढ बनाउन कार्यकर्तालाई प्रतिबद्ध हुन आग्रह पनि गरे ।

    थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने पनि बताए । उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए ।

    ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीभित्र यि सबै कुराहरू, चुनावको उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ ।’ उनले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने पनि जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar