काँग्रेस प्रवेशपछि सुरज मानन्धर विवादमा: पर्सागढीमा ‘काँग्रेस–जसपा एकीकरण’को भ्रम फैलाएको आरोप, जसपाको कडा आपत्ति

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • वीरगंज – पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल थप तातिएको छ। स्थानीय राजनीतिमा सक्रिय सुरज कुमार मानन्धरमाथि मतदातामाझ भ्रामक सूचना फैलाएको आरोप लागेपछि क्षेत्रको चुनावी समीकरणमा नयाँ बहस सुरु भएको हो।

    यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल मा आबद्ध रहेका मानन्धरले हालै नेपाली काँग्रेस मा प्रवेश गरेका छन्। पार्टी परिवर्तन गरेलगत्तै उनले “काँग्रेस र जसपा एकीकरण भइसकेको” भन्ने सन्देश मतदातामाझ फैलाइरहेको आरोप जसपाका नेताहरूले लगाएका छन्।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट पर्सागढी नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका मानन्धर पराजित भएका थिए। त्यसयता पनि उनी सक्रिय राजनीतिमा संलग्न रहँदै आएका थिए। केही समय अघिसम्म उनी जसपाका तर्फबाट पर्सा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानीसँग घरदैलो कार्यक्रममा सहभागी देखिएका थिए। तर, एकाएक काँग्रेस प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा आश्चर्य व्यक्त गरिएको छ।

    जसपा सम्बद्ध नेताहरूका अनुसार मानन्धरले व्यक्तिगत स्वार्थ पूरा नभएपछि पार्टी परित्याग गरेका हुन्। “पार्टी परिवर्तन व्यक्तिगत अधिकार हो,” एक जसपा नेताले भने, “तर मतदातालाई भ्रममा पार्नु लोकतान्त्रिक अभ्यासविरुद्धको काम हो।”

    स्थानीय विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा दलहरूबिचको प्रतिस्पर्धा विचार, एजेन्डा र कार्यक्रमका आधारमा हुनुपर्ने हो। भ्रमपूर्ण सन्देश फैलिनु लोकतान्त्रिक संस्कारका लागि घातक हुन सक्ने उनीहरूको भनाइ छ।

    मानन्धरको सामाजिक सञ्जाल प्रोफाइलमा भने अझै आफूलाई जसपाका नेता तथा पर्सागढी नगरपालिकाको पूर्व प्रमुख प्रत्याशीका रूपमा उल्लेख गरिएको देखिन्छ। यसले मतदातामा थप अन्योल सिर्जना गरेको स्थानीय बासिन्दाहरू बताउँछन्। केही मतदाताले उनलाई ‘दलबदलुवा नेता’ भन्दै आलोचना गरेका छन्। यद्यपि, मानन्धर पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar