ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि सहकार्य

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठान बीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

    मंगलबार कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइट को उपस्थितिमा उक्त समझदारीमा हस्ताक्षर भएको हो।

    समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ ले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार तिलगंगा आँखा प्रतिष्ठानले बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क मोतिबिन्दु पहिचान तथा शल्यक्रिया गर्नेछ।

    यसैगरी, विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण गर्ने सहमति पनि भएको छ।

    कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए। उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सातै प्रदेशमा समान रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

    त्यस्तै, डा. रुइटले नेपाली बैंकसँगको सहकार्य अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै यस सहकार्यलाई दिगो र प्रभावकारी बनाउने बताए। उनले पारदर्शिता र चुस्त व्यवस्थापनलाई प्राथमिकता दिने पनि स्पष्ट पारे।

    बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र प्रतिष्ठित संस्थाबीचको सहकार्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालनमा थप ऊर्जा मिलेको बताए।
    उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उच्च पदस्थ कर्मचारी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भइसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’ लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।

    हाल बैंकले देशभर ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्दै ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।

    सन् १९९२ मा स्थापना भएको तिलगंगा आँखा प्रतिष्ठान गैरनाफामूलक संस्थाका रूपमा आँखा स्वास्थ्य सेवा, अनुसन्धान, शिक्षण तथा समुदायस्तरका कार्यक्रममार्फत नेपालसहित विश्वभर गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar