बसको ठक्करबाट पैदलयात्रीको मृत्यु : अरनिको राजमार्ग अवरुद्ध

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काभ्रेपलाञ्चोक, ४ मङ्सिर । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

    सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नं को बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो । स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’ गर्दै आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्याएको थियो । यसैबीच, उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि उहाँका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।

    घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ, भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । नगरप्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar