भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

  • कालिका खवर
  • आइतवार, भदौ २८, २०८३
  • काठमाडौँ : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।

    राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

    प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा क्षति पुगेको छ । स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु ३.७५ करोड बराबरको क्षति हो ।

    रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु १२.२९ करोड बराबरको क्षति हो । नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु ३६.६२ करोड बराबर हो ।

    धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् । जुन रु ४.१ करोड बराबरको क्षति हो ।

    जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन रु १.४३ करोड बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रुपमा रहेका रु २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar