बालेनका दाइ कौशलेन्द्रसँग महागढीमाई मन्दिर दर्शन गर्दै बारा – ३ मा रास्वपाका उम्मेदवार अरविन्द साहले सुरु गरे आफ्नो चुनावी अभियान

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • कलैया –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले आफ्नो चुनावी अभियानलाई विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्दै औपचारिक रूपमा सुरु गरेका छन् ।

    सफल उद्यमी र व्यवसायीका रूपमा परिचित साहले देशकै अग्रणी डिजिटल वालेट एप ‘खल्ती’ सञ्चालन गर्दै हजारौँ युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । यस पटक पर्सा–३ मा उम्मेदवारी दर्ता गरेका उनले रोजगारी सृजना, स्वास्थ्य सेवा सुधार, शिक्षा सुधार र समग्र समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । अभियानको सुरुवातमा साहसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का दाजु कौशलेन्द्र शाह पनि सहभागी थिए ।

    मन्दिर दर्शनपछि स्थानीय बासिन्दाहरूसँग अन्तर्क्रिया गर्दै कौशलेन्द्र शाहले विकास, परिवर्तन र समृद्धिका लागि रास्वपालाई जिताएर इतिहासमा पहिलो पटक मधेसी समुदायका व्यक्तिलाई प्रधानमन्त्री पदसम्म पुर्‍याउन सहयोग गर्न आग्रह गरे ।

    उनले बालेन्द्र शाहले तीन वर्षको कार्यकालमा विभिन्न बाधा र अवरोधका बाबजुद काठमाडौँमा आमूल परिवर्तन ल्याएको उदाहरण दिँदै भने, “प्रधानमन्त्री बनेपछि देशले नै काँचुली फेर्नेछ” ।

    उम्मेदवार अरविन्द साहले पनि बाराको समृद्धिका लागि आफ्नो उम्मेदवारीलाई जोड दिए । उनले भने, “इतिहासमा बारा जिल्लाको नाम सुवर्ण अक्षरमा लेखिएको थियो, तर वर्तमानमा यो धुमिल हुँदै गएको छ ।”

    विश्वप्रसिद्ध महागढीमाई मन्दिर क्षेत्रको विकासमा अहिलेसम्म कुनै ठोस योजना नआएकोमा दुःख व्यक्त गर्दै साहले मन्दिरको प्रचार–प्रसार, प्रवर्द्धन, संरक्षण र यसलाई पर्यटकीय हबका रूपमा विकास गरेर जिल्लाको आर्थिक उन्नतिमा योगदान दिन सकिने बताए ।

    यसैबिच, सोही दिन बारा जिल्लाको कलैया उपमहानगरपालिका–२६ मा उम्मेदवार साहले स्थानीय बाबा कवरथुवा बाबाबाट आशीर्वाद ग्रहण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar