बालेन शाहप्रति अजय चौरसियाको टिप्पणीको तेली समाजद्वारा कडा विरोध

  • कालिका खवर
  • सोमवार, माघ १२, २०८२
  • काठमाडौं – पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै दिएको टिप्पणीप्रति तेली समाजले कडा आपत्ति जनाएको छ।

    तेली समाजका अगुवा तथा सदस्यहरूले चौरसियाको अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार र सामाजिक सद्भाव बिगार्ने खालको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सार्वजनिक पदका उम्मेदवारले मर्यादित, जिम्मेवार र संयमित भाषा प्रयोग गर्नुपर्नेमा चौरसियाको टिप्पणीले सम्पूर्ण समुदायको भावना आहत भएको उनीहरूको भनाइ छ।

    तेली समाजका एक अगुवाले भने, “कुनै पनि व्यक्तिको आलोचना राजनीतिक विषयवस्तुमा सीमित हुनुपर्छ। व्यक्तिगत चरित्र वा समुदायलाई असर गर्ने किसिमका टिप्पणी स्वीकार्य हुँदैनन्।”

    उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक प्रतिक्रिया देखिएको छ। विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा तेली समाजका युवाहरूले चौरसियाको अभिव्यक्तिको आलोचना गर्दै यस्ता नेताहरूलाई चुनावमा मतमार्फत जवाफ दिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रदीप शाह नामक युवाले पर्सा क्षेत्र नम्बर २ लगायत विभिन्न स्थानमा रहेका तेली समाजका मतदाताहरूलाई यस्ता अभिव्यक्ति दिने नेताविरुद्ध मतदानमार्फत प्रतिक्रिया जनाउन आग्रह गरेका छन्। त्यस्तै, अर्का युवा मनोज शाहले फेसबुकमा स्टाटस पोस्ट गर्दै गैरजिम्मेवार अभिव्यक्ति दिने नेताहरूलाई बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले सार्वजनिक पदमा जाने आकांक्षा राख्ने व्यक्तिले समाजमा विभाजन होइन, एकता र सम्मानको सन्देश दिनुपर्ने उल्लेख गरेका छन्।

    तेली समाजले चौरसियाको अभिव्यक्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्ने भन्दै यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता टिप्पणी नदोहोर्याउन र सार्वजनिक रूपमा स्पष्टिकरण तथा आत्मआलोचना गर्न पनि माग गरिएको छ।

    यस विषयमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाको तर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनको समयमा सार्वजनिक रूपमा दिइने अभिव्यक्तिले उम्मेदवारको व्यक्तिगत छवि मात्र होइन, पार्टीको समग्र धारणा र मतदाताको विश्वासमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबै पक्ष सचेत र जिम्मेवार हुन आवश्यक देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar