बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • कालिका खवर
  • आइतवार, कार्तिक ९, २०८२
  • बागमती : लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उनले बताए । राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उहाँसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति तय हुने उपसभामुख चापागाईंको भनाइ छ ।

    सम्भवतः काात्तिकको तेस्रो सातातिर बैठक बोलाउने गरी छलफल अघि बढेको उनले बताए । प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको छ । तत्कालका लागि अस्थायी रुपमा मुख्यमन्त्री कार्यालयको नवनिर्मित सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालेको हो । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

    “अहिले सो भवनलाई मर्मत सम्भार, सरसफाइ र व्यवस्थापनको काम भइरहेको छ”, सचिव पौडेलले भने, “सो सभाहलमा रङ्ग लगाउने, फर्निचर व्यवस्थापनसँगै विद्युतीकरणको काम पनि तीव्र रुपमा भइरहेको छ ।” सम्भवतः छिट्टै काम सकिने र त्यसपछि बैठकमा बस्ने तयारी भइरहेको उनको भनाइ छ । हाल सो सभाहलको भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सहरी विकास तथा भवन कार्यालयले सरसफाइ र रङगरोगनको काम अघि बढाएको छ । बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रुपमा व्यवस्थापन गर्ने तयारी गरिएको सचिव पौडेलले बताए । आगजनीबाट जोगिएका केही ल्यापटप, डेक्सटप कम्प्यूटरबाट काम सुरु गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar