बाढीपहिरोले यी सडकखण्ड आज पनि पूर्णरुपमा अवरुद्ध

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका–४ स्थित टिका भैरव चारधारे सडक खण्डमा असोज ११ गते बिहान पहिरो खसेका कारण यातायात एकतर्फी मात्र सुचारु रहेको छ ।

    त्यस्तै, बागमती गाउँपालिका–३ ताकुर्चेस्थित कान्तिलोकपथमा असोज १२ गते दिउँसो गएको पहिरोका कारण सडक अझै पूर्णरूपमा अवरुद्ध छ ।

    मुख्य राजमार्गहरू बाढीका कारण प्रभावित भएका छन् । भदौ १० गतेदेखि नै अवरुद्ध भएका ती सडकहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द रहने जनाइएको छ ।

    बाढीका कारण बेसीसहर हुँदै खाङसार जाने सडकखण्ड पूर्णरूपमा बन्द अवस्थामा छ ।

    जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालिगण्डकी करिडोरमा असोज ९ गते साँझ खसेको पहिरो पन्छाएपछि हाल यातायात एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

    म्याग्दीका दुई प्रमुख सडक खण्ड पहिरोका कारण पूर्णरूपमा ठप्प छन् । रघुगंगा गाउँपालिका–२ बैसरी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेवगरस्थित बेनी–जोमसोम सडक खण्ड र बेनी नगरपालिका–०४ घुमाउने भीरस्थित बेनी–दरबाङ सडक खण्डमा असोज १० गते खसेको पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।

    थासाङ गाउँपालिका–४ स्थित जोमसोम–कोरला सडकखण्ड पनि असोज १० गतेको पहिरोका कारण पूर्णरूपमा बन्द रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar