अपर त्रिशूली–३ ‘ए’मा उद्धार सुस्त, सुरुङभित्र फसेकाको जीवनरक्षाका लागि परिवारको गुहार

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • नुवाकोट । अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फको सुरुङमा फसेका करिब ४२ जनाको उद्धार कार्यमा ढिलाइ भएको भन्दै पीडित परिवारले तत्काल आधुनिक प्रविधि, पर्याप्त उपकरण र दक्ष जनशक्ति परिचालन गर्न सरकारसँग माग गरेका छन् ।

    महेन्द्रविक्रम शाहीका बुवा शेरबहादुर शाहीले परिवारको तर्फबाट पठाएको विवरणअनुसार भदौ १० गतेदेखि उद्धार कार्य सुरु भए पनि भदौ १६ गतेसम्म अपेक्षित गतिमा काम अघि बढ्न सकेको छैन ।

    उद्धारका लागि प्रयोग भइरहेका यान्त्रिक उपकरणमध्ये अधिकांश पुराना तथा सञ्चालनमा समस्या देखिएको परिवारको दाबी छ ।

    चारवटा मेसिनमध्ये तीनवटा नचल्ने अवस्थामा रहेको र हाल सानो स्काभेटर तथा ब्याकहो लोडरमध्ये एउटा मेसिन मात्र सञ्चालनमा रहेको परिवारले जनाएको छ ।

    परिवारका अनुसार सञ्चारमाध्यममा उद्धार टोली तथा उपकरण सुरुङको मुखसम्म पुगेको समाचार सार्वजनिक भए पनि सुरुङभित्र फसेकाहरूको उद्धारमा हालसम्म उल्लेखनीय प्रगति हुन सकेको छैन ।

    समयमै प्रभावकारी उद्धार हुन सके सुरुङभित्र रहेका व्यक्तिहरूलाई सकुशल उद्धार गर्न सकिने सम्भावना रहेको भन्दै परिवारले ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    उद्धार कार्यमा राजनीतिक हस्तक्षेप भएको आरोप समेत परिवारले लगाएको छ । सत्तारूढ दलका फिल्डमा खटिएका दुई जना इन्जिनियर सांसदले प्राविधिक कर्मचारीमाथि अनावश्यक हस्तक्षेप गरेको परिवारको आरोप छ । यस्तो हस्तक्षेपले उद्धार कार्य थप प्रभावित भएको भन्दै परिवारले प्राविधिक टोलीलाई आवश्यक उपकरण र स्रोतसहित प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउन माग गरेको छ ।

    परिवारले महेन्द्रविक्रम शाहीसहित सुरुङभित्र फसेका करिब ४२ जनाको जीवनरक्षाका लागि तत्काल नवीनतम प्रविधि र दक्ष प्राविधिक जनशक्ति परिचालन गर्न सरकारसँग विशेष आग्रह गरेको छ ।

    पीडित परिवारले उद्धारमा थप ढिलाइ नगरी उपलब्ध सबै स्रोत, साधन र प्रविधिको अधिकतम प्रयोग गरेर तत्काल उद्धार अभियानलाई तीव्र बनाउन माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar