आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–२ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्यप्रसाद पोखरेल रहेका छन् ।

    प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे उनले आफ्नै शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए । स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए ।

    इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेको थियो । टोलीले आगोले गम्भीर रूपमा जलेका घाइते उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्‍याएको थियो ।

    आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ः०० बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो । तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे ती पुरुषको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत खोजी गर्दा भएको हो । मोबाइलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क भएको हो । मृतकका आफन्तहरू घटनास्थलतर्फ आइरहेका प्रहरी स्रोतले जनाएको छ ।

    उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने विषय हालसम्म खुलेको छैन । अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar