पूर्वमुख्यसचिव एकनारायण अर्याल प’क्राउ

  • कालिका खवर
  • बिहिबार, मंसिर १०, २०८३
  • काठमाडौँ : पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्‍यो । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने चाहिँ बताउन चाहेन । यद्यपि गृह मन्त्रालयको स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ ।

    अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।

    अर्याल मुख्यसचिव बन्नुअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए । उनी मन्त्रालयको सचिव हुँदा भएको भनिएको निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।

    अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए । त्यसअघि उनले गृहसचिवको जिम्मेवारी सम्हालेका थिए । मुख्यसचिवका रूपमा करिब १५ महिना काम गरेपछि २०८२ मंसिरमा उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए ।

    मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गर्ने प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ । करिब सात लाख नेपाली श्रमिकसँग जोडिएको यस प्रकरणमा पूर्वमन्त्रीदेखि उच्च प्रशासनिक अधिकारीसम्म अनुसन्धानको दायरामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar