आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • कालिका खवर
  • मङ्लबार, मंसिर ८, २०८३
  • काठमाडौँ : लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो ।

    अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको जिकिरसहित खारेज गर्न माग गरिएको छ ।

    अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि गम्भीर प्रश्न उठाउँदै संगठनले सरकारको बारम्बार ध्यानाकर्षण गराउनुका साथै पटक-पटक खबरदारी गर्दै आएको थियो । तर, अभियानले उठाएका प्रश्न र सार्वजनिक चासोलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ ।

    नियुक्तिको कानुनी वैधता परीक्षण गर्न तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar