बंगलादेशमा सीमा सुरक्षा कडा, सातखिरामा बीजीबीको उच्च सतर्कता

  • कालिका खवर
  • आइतवार, मंसिर ६, २०८३
  • ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा बंगलादेश फर्कने योजना घोषणा गरेपछि ‘बोर्डर गार्ड बंगलादेश’ (बीजीबी)ले देशका सीमा क्षेत्रमा निगरानी बढाएको छ ।

    हाल भारतमा रहेका अवामी लिगका ठूलो संख्याका नेता तथा कार्यकर्ता शेख हसिनाको आगमनअघि वा सोही समय आसपास बंगलादेश प्रवेश गर्ने प्रयास गर्न सक्ने र यसले शान्ति–सुरक्षाको अवस्थालाई अझ बिगार्न सक्ने आशंका सुरक्षा अधिकारीहरूले व्यक्त गरेका छन् ।

    सार्वजनिक सुरक्षा कायम राख्न र सम्भावित अशान्ति नियन्त्रण गर्न ढाका, नारायणगञ्ज, गाजीपुर, गोपालगञ्ज, मयमनसिंह, फरिदपुर र कक्स बजारमा बीजीबीका कुल ९० प्लाटुन जनशक्ति परिचालन गरिएको छ । बीजीबीले सीमा क्षेत्रमा जनशक्ति, गुप्तचर निगरानी, विशेष गस्ती र जाँच चौकीको संख्या बढाएको छ । रात्रिकालीन निगरानी उपकरण (नाइट–भिजन डिभाइस), थर्मल क्यामेरा, ड्रोन र अन्य निगरानी प्रविधिको प्रयोग भइरहेको छ भने संवेदनशील क्षेत्रहरूमा बत्ती जडान गरी उज्यालोको व्यवस्था गरिएको छ ।

    बीजीबी मुख्यालयका सञ्चालन निर्देशक लेफ्टिनेन्ट कर्नेल मोहम्मद महबुब मुर्शेद रहमानले शनिबार ‘ढाका ट्रिब्युन’सँग कुरा गर्दै सबै सीमा क्षेत्रमा निगरानी कडा पारिएको बताए । स्थापित कानुनी प्रक्रियाविपरीत भारतबाट मानिसहरूलाई बंगलादेशतर्फ धकेल्ने कुनै पनि प्रयास विफल पारिने उनले स्पष्ट पारे । प्रवेश गर्दा आवश्यक कागजातसहित अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने र आवश्यक परे दुवै देशका प्रहरीको उपस्थितिमा औपचारिक हस्तान्तरण गरिनुपर्ने उनको भनाइ छ । जेस्सोर सीमा क्षेत्रमा बीजीबीले अवैध प्रवेश रोक्न स्थानीय बासिन्दा र राजनीतिक नेताहरूलाई समेत संलग्न गराएको छ ।

    जेस्सोरस्थित बीजीबीको ४९ औँ बटालियनका कमान्डर लेफ्टिनेन्ट कर्नेल गुलाम मोहम्मद सैफुल आलम खानका अनुसार अवैध प्रवेशबारे सूचना दिने स्थानीय बासिन्दालाई पुरस्कार दिइनेछ र उनीहरूको परिचय गोप्य राखिनेछ । स्थानीय बासिन्दा र राजनीतिक प्रतिनिधि सम्मिलित टोलीले रातिको समयमा काँडेतार लगाइएको सीमा क्षेत्रका ढोकाहरूमा निगरानी गरिरहेको तथा बीजीबीका जवानहरूले हतियारसहित गस्ती जारी राखेको उनले जानकारी दिए । यस बटालियनले ७० किलोमिटर लामो सीमा क्षेत्रको रेखदेख गर्छ, जहाँ करिब हरेक तीन किलोमिटरमा एउटा सीमा चौकी (बोर्डर आउटपोस्ट) रहेको छ।

    सातखिरामा बीजीबीको ३३ औँ बटालियनले आफ्नो ५४ किलोमिटर लामो सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । बटालियनका कमान्डर लेफ्टिनेन्ट कर्नेल काजी आशिकुर रहमानका अनुसार त्यहाँ गस्ती बढाउनुका साथै गुप्तचर सूचना संकलन र मुख्य बिन्दुहरूमा जाँच कडा पारिएको छ ।

    सिलहटमा बीजीबीले प्रहरी र गुप्तचर निकायहरूसँग सहकार्य गरिरहेको छ । ४८ औँ बटालियनका कमान्डर लेफ्टिनेन्ट कर्नेल नुर उद्दिन अहमदका अनुसार अवैध प्रवेश र तस्करी नियन्त्रण गर्न ड्रोनको प्रयोग र थप गस्ती परिचालन गरिएको छ ।

    देशभर विभिन्न आक्रमण र तोडफोडका घटनाहरू भइरहेका पृष्ठभूमिमा यो सुरक्षा व्यवस्था कडा पारिएको हो । प्रहरीको तथ्यांकअनुसार नोभेम्बर ७ देखि १८ को बीचमा ७८ स्थानमा बम विस्फोटका घटना भएका छन् भने ७४ वटा सवारी साधनमा आगजनी गरिएको छ ।

    प्रहरीका संरचना र सवारी साधनलाई समेत निसाना बनाइएको थियो । प्रहरीका अनुसार यी घटनासम्बन्धी कुल ३८ वटा मुद्दा दर्ता गरिएका छन् र ६३ जनालाई पक्राउ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar