अझै टुङ्गिएन प्रधानमन्त्री शाहको भ्रमण तालिका

  • कालिका खवर
  • बुधबार, मंसिर २, २०८३
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तालिका अझै टुंगिएको छैन । भ्रमण तालिका टुङ्ग्याउनका लागि नेपाल र भारतका अधिकारीहरूबिच समन्वयात्मक छलफल भइरहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

    तालिका निश्चित भएपछि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । ‘अहिले नेपाल र भारतका अधिकारीबिच भ्रमण तालिकाबारे समन्वय भइरहेको छ । निश्चित भएपछि सार्वजनिक हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने ।

    भ्रमणको तालिका निश्चित गर्न आज पनि दुई पक्षीय भेटवार्ता भइरहेका छन् । भ्रमण तालिकाका बारेमा नेपालस्थित भारतीय राजदूत सुधाकर दलेलाले बुधबार प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबार पुगेर भेटवार्ता गरेका थिए ।

    तालिका निश्चित भएपछि परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सचिव अमृत राईले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने तयारी छ । तर, शुक्रबार कतिबेला पत्रकार सम्मेलन गर्ने भन्ने निश्चित भइरहेको छैन ।

    प्रधानमन्त्री शाह  दुई दिने राजकीय भ्रमणका लागि मङ्सिर ६ गते भारत प्रस्थान गर्ने विषय बाहिर आएको छ । उनी मङ्सिर ७ गते स्वदेश फर्कने कार्यक्रम भएको पनि बताइएको छ । तर परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक भ्रमण तालिका सार्वजनिक गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar