चेरी क्यु नेपाली बजारमा सार्वजनिक, एकपटकको चार्जमा ४०० किमीसम्म चल्ने दाबी

  • कालिका खवर
  • बिहिबार, कार्तिक १९, २०८३
  • काठमाडौं । नेपालका लागि चेरी (CHERY) गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यु’ (CHERY Q) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    अत्याधुनिक प्रविधि, प्रिमियम आराम तथा आधुनिक सुरक्षा सुविधाले सुसज्जित चेरी क्युले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ। गाडीको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने ह्विलबेस २,७०० मिमी छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्ससहितको यो गाडी नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। चेरी क्युमा ७० लिटर क्षमताको अगाडिको फ्रन्क र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस रहेको छ।

    पछाडिको सिट फोल्ड गर्दा बुट स्पेस १,४५० लिटरसम्म विस्तार गर्न सकिनेछ। सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, ५४०-डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट तथा एडास प्रविधिअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता सुविधा उपलब्ध छन्। यसमा ४१.२ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र रियर-ह्विल ड्राइभ मोटर जडान गरिएको छ। मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। एकपटक पूर्ण चार्ज गर्दा एनईडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ। फास्ट चार्जिङमार्फत ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने जनाइएको छ।

    सार्वजनिक कार्यक्रममा पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले चेरी क्युको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधान भित्र्याउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए। ग्राहकले चेरी क्यु प्रिमियमलाई काठमाडौंको थापाथलीस्थित चेरी शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुममा अवलोकन तथा अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar